विराटनगर । जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका-६ स्थित भाटभटेनी सुपर मार्केटमा साेमबार जलेको अवस्थामा मानव कंकाल फेला परेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले मानव कंकाल फेला परेको बताउनुभयो । पुरै शरीर नभएर जलेको हड्डीहरू भेटिएको उहाँले जानकारी दिनुभयो । जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो ।
जलेर खरानी भएको भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् । घटनाको जानकारी पाएलगत्तै एसपी चिमरिया नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।
यसअघि धरानको भाटभटेनीमा पनि चार जनाको शव फेला परेको थियो । आन्दोलनका नाममा विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी एवं तोडफोड गर्नुका साथै लुटपाटसमेत मच्चाइएको थियो ।