अबदेखि विदेशी विश्वविद्यालयको उपाधिको समकक्षता विश्वविद्यालय अनुदान आयोगले दिने

स्वदेशी उपाधिमा समकक्षता लिनुपर्ने प्रावधान हट्यो
भाद्र ७, २०८२ |नारायण किलम्बू
अबदेखि विदेशी विश्वविद्यालयको उपाधिको समकक्षता विश्वविद्यालय अनुदान आयोगले दिने

काठमाडौं । विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन पुरा गरेका विद्यार्थीलाई दिइँदै आएको समकक्षता अबदेखि विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने भएको छ । 

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन पारित गरेपछि अबदेखि अनुदान आयोगमार्फत शैक्षिक उपाधिको समकक्षता दिने नयाँ व्यवस्था गर्न लागिएको हो । ऐन पारित भएसँगै अब स्वदेशका विश्वविद्यालयहरूबाट उच्चशिक्षाको उपाधिको समकक्षता भने लिनु नपर्ने भएको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन पारित भएसँगै विदेशी विद्यार्थीलाई दिइँदै आएको समकक्षता अबदेखि विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने भएको छ । 

त्रिभुवन विश्वविद्यालयले २०३० सालदेखि नै स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूबाट उच्चशिक्षा पुरा गरेका विद्यार्थीलाई शैक्षिक उपाधिको मान्यता तथा समकक्षता दिँदै आएको थियो । 

यस्तो संख्या बर्सेनि १५ हजारको संख्यामा हुने गरेको थियो । तर समकक्षताको कामले विश्वविद्यालयको पाठ्यक्रमदेखि अन्य निकायमा प्रभाव परेको भन्दै सरकार वा अरू निकायमार्फत समकक्षताको काम गर्न त्रिविले सुझाव दिँदै आएको थियो ।

नयाँ कानुनमार्फत् स्वदेशका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबाट उच्चशिक्षा हासिल गरेका विद्यार्थीले समेत समकक्षता लिनुपर्ने प्रावधान हटाइएको छ । विश्वविद्यालय अनुदान आयोगले २०८३ साउन १ देखि विदेशमा उच्चशिक्षा गरेका विद्यार्थीको शैक्षिक योग्यताको मान्यता तथा समकक्षता प्रदान गर्ने गरी तयारी सुरू गरिने जनाएको छ । समकक्षतालाई व्यवस्थित बनाउन निर्देशिका बनाइ कार्यान्वयनमा ल्याइने आयोगको भनाइ छ ।

विश्वविद्यालयहरूको नियमन र आर्थिक अनुदान उपलब्ध गराउने लगायतका काम गर्दै आएको आयोगमा क्रेडिट ट्रान्सफर लगायतका दायित्वसमेत छ । अब समकक्षताको कामसमेत थपिएपछि आयोगले थप जनशक्ति सरकारसँग माग गरिसकेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।