सरकारी सेवा प्रवेशमा युवाको उत्साहजनक सहभागिता, विदेशभन्दा स्वदेशमै रोजगार गर्ने चाहसहित तयारी कक्षामा

साढे ३ हजार पदको विज्ञापनमा झन्डै पाँच लाखको आवेदन
भाद्र ४, २०८२ |प्रकाश बम|नवीन पौडेल
सरकारी सेवा प्रवेशमा युवाको उत्साहजनक सहभागिता, विदेशभन्दा स्वदेशमै रोजगार गर्ने चाहसहित तयारी कक्षामा

काठमाडौं । नेपालमा शिक्षित युवाको संख्या बढ्दो रहे पनि रोजगारीको अवसर न्यून मात्र सिर्जना हुँदा बेरोजगारी गम्भीर समस्याकै रूपमा देखिएको छ । 

रोजगारको खोजीमा दैनिक सयौं युवा विदेशीन बाध्य छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेका युवाको भीड हेरेर नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण हुँदैछ । तर यो भीडलाई हेरेर मात्र त्यसो भन्नुमा पूर्ण सत्यता छैन । 

देशमै केही गर्न चाहने, यहाँ हुन्छ, यतै गर्छु भन्ने युवाको संख्या पनि कम छैन । तर त्यसको चर्चा र मूल्याङ्कन भने भएको छैन । लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्दै देशमा केही गर्न खोज्ने युवाहरूको जमात पनि निकै ठूलो छ ।

यो दृश्य लोक सेवा तयारीमा लागेका युवाहरूको हो। नेपालमा अवसर छैन सबै विदेश जान्छन् भन्ने भाष्यलाई चिर्न यो दृश्य काफी छ । अध्ययन, रोजगारी वा वैधानिक रुपमा बस्नका लागि विदेश जानु नागरिकको नैसर्गिक अधिकार हो । 

अहिले हाम्रा तथ्यांकहरूले धेरैजसो युवा विदेश गइरहेको नै देखाउँछ । नेपालको श्रम बजारमा बार्षिक निस्कने लाखौं युवा मध्ये केही विदेश जान्छन्, केही नेपालमै केही गर्न थाल्छन् ।

यस्तै नेपालमै केही गरौ भन्नेहरू मध्ये हजारौं युवा सरकारी सेवामा प्रवेश गर्न काठमाडौंको बागबजारमा चलिरहेका लोकसेवा तयारी कक्षामा सहभागी हुन हरेक बिहान र साँझ भेला हुन्छन् । 

४ महिनासम्म लगातार तयारी कक्षा धाएर अध्ययन गरेकी रोल्पाकी खुसी बुढा मगरले लोकसेवाले लिएको परीक्षामा एकै वर्ष सात स्थानमा नाम निकाल्नुभयो । पशु विज्ञान पढेकी खुसी अहिले प्राविधिक सहायक पाँचौ तहमा बर्दघाट नगरपालिका नवलपरासीमा कार्यरत हुनुहुन्छ । सरकारी सेवामा प्रवेश गर्छु भन्ने अठोट र कडा मेहनतले सफलता दिलाएपछि खुसीको जीवनमा खुसीयाली छाएको छ ।

लोकसेवा आयोगले स्वतन्त्र, निष्पक्ष तथा तटस्थ परीक्षा लिने र योग्यताअनुरूप समान अवसर दिलाउने भएकाले सरकारी सेवामा युवाको आकर्षण बढेको हो । नेपालमा सरकारी जागिर सम्मानित एवं सुरक्षित पेसा हो ।

लोक सेवामा बढेको आकर्षण र प्रतिस्पर्धासँगै तयारी कक्षा अध्यापन गराउने इन्स्टिच्यूटहरूको व्यवसाय पनि फस्टाएको छ । शहरका हरेक चोक र गल्लीमा लोक सेवा तयारीका साइनबोर्ड छ्याछ्याप्ती छन् । 

काठमाडौंका बागबजार, पुतलीसडक, चावहिल, बानेश्वर, अनामनगर, कीर्तिपुर, संखमुललगायतका ठाउँमा खुलेका इन्स्टिच्यूटहरूमा विद्यार्थीको घुइँचो देखिन्छ । सातै प्रदेशका मुख्य सहरहरूको अवस्था पनि त्यस्तै छ । अझ अहिले त लोकसेवा तयारी कक्षा अनलाइन पनि सञ्चालन हुन्छ ।

निजामती सेवासँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरकारी सार्वजनिक संस्थानहरूमा पनि बर्सेनि ठूलो संख्यामा जनशक्ति माग हुँदै आएको छ । लोकसेवा आयोगले कुनै एक सय पदका लागि आवेदन खोल्दा एक लाखसम्मको पर्ने गरेको छ । यसले पनि लोकसेवाप्रतिको आकर्षण बढेको पुष्टि हुन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा लोकसेवा आयोगले निजामती सेवातर्फ ३ हजार ६ सय ६० पदका लागि विज्ञापन निकाल्दा ४ लाख ७३ हजार ४ सय ९० जनाले दर्खास्त हाले । यसमा पनि सबैभन्दा बढी नायव सुब्बा वा सो सरह तथा खरिदार वा सो सरहका पदमा दरखास्त धेरै परेको देखिन्छ । 

गतवर्ष २ सय ९२ पदका लागि विज्ञापनमा १ लाख ६६ हजार ९ सय २९ को दर्खास्त परेको थियो । त्यस्तै सुरक्षा निकाय र संगठित संस्थातर्फ कुल ९ सय ७५ जनाका लागि विज्ञापन हुँदा ४ लाख ५८ हजार ६ सय ७८ दर्खास्त परेका थिए । प्रतिस्पर्धा तीव्र हुँदा विद्यार्थीहरू तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्यूटसम्म पुग्ने गरेका छन् ।

लोक सेवा आयोगले सेवा प्रवेशका लागि १८ वर्षदेखि ३५ वर्षसम्म उमेर हद तोकेको छ, महिलाले ४० वर्षसम्म आयोगमा प्रतिस्पर्धा गर्न पाउँछन् । सीमित पदपूर्तिको विज्ञापनमा लाखौं युवा झुम्मिएको अवस्थाले भने मुलुकमा बेरोजगारी समस्या बढिरहेको स्पष्ट देखिन्छ । त्यसकारण पनि युवाहरू कामको खोजिमा विदेशिनु परिरहेको हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


सम्बन्धित