घोराही क्याम्पसमा स्ववियुले चलायो शिक्षक लाइसेन्सको निशुल्क तयारी कक्षा, कमजोर आर्थिक अवस्था भएकालाई सहज

श्रावण २७, २०८२ |अमर क्षितिज भण्डारी
घोराही क्याम्पसमा स्ववियुले चलायो शिक्षक लाइसेन्सको निशुल्क तयारी कक्षा, कमजोर आर्थिक अवस्था भएकालाई सहज

दाङ । कक्षा १२ उत्तीर्ण गरेपछि धेरै युवाको चाहना हुन्छ- कुनै न कुनै रोजगारीमा आबद्ध हुन सकुँ । रोजगारी गर्दै स्वदेशमै पढाइलाई निरन्तरता दिने चाहना राख्नु पक्कै राम्रो कुरा हो । तर शीप र क्षमता नभए काम पाउन सहज छैन । 

सरकारी सेवामा प्रवेश गर्न त झन् महंगो शुल्क तिरेर तयारी कक्षा लिनुपर्ने बाध्यता छ । यो अवस्था नहोस् भनेर दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले शिक्षक बन्न चाहनेहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।

दाङ सदरमुकाम घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ५५ नम्बर कोठामा शिक्षक पढाउन र विद्यार्थी पढ्नमा व्यस्त छन् । यो पढाइ क्याम्पसमा पढाइ हुने विषय भने होइन । 

यो स्वतन्त्र विद्यार्थी युनियनले शिक्षक सेवामा प्रवेश गर्न चाहनेहरूका लागि सुरू गरेको निःशुल्क तयारी कक्षा हो । बिहानी र दिवा सत्रमा क्याम्पस अध्ययन गर्ने २ सय जना विद्यार्थी अहिले स्ववियुले चलाइरहेको निःशुल्क तयारी कक्षा लिइरहेका छन् ।

निजी तथा सरकारी विद्यालयले दक्ष शिक्षक आवश्यकताको विज्ञापन गरे पनि पाउनै छ । त्यति मात्र होइन, उच्च शिक्षा र रोजगारीका लागि युवाहरू विदेशिने क्रम बढेपछि जिल्लाका शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रूपमा देखिएको छ । तर स्ववियुले सञ्चालन गरेको तयारी कक्षामा देखिएको सहभागिताले भविष्यमा राम्रो जनशक्ति तयार हुने अपेक्षा प्रशिक्षकको छ ।

स्ववियुले अहिले एउटा कोठामा मात्र तयारी कक्षा सञ्चालन गर्दै आएको छ । तर विद्यार्थीको चाप बढेकाले कक्षा थप्ने तयारी स्ववियुको छ । महेन्द्र बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टा तयारी कक्षा हुँदै आएको छ । 

यो कक्षाले विद्यार्थीको उत्तर लेखन शैलीमा समेत सकारात्मक परिवर्तन भएको बुझाइ शिक्षकहरूको छ । यति मात्र नभएर स्ववियु र क्याम्पस प्रशासनबीचको सुमधुर सम्बन्धले समग्र क्याम्पसको शैक्षिक सुधारमा समेत टेवा पुगेको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।