बाह्र कक्षा उत्तीर्णमध्ये आधाजसो विदेश पढ्न जाने तयारीमा, स्वदेशकै शिक्षामा विश्वास नहुँदा क्याम्पसहरूमा विद्यार्थी अभाव

कमजोर शैक्षिक गुणस्तर र रोजगारी सिर्जना नहुनु मुख्य कारण
श्रावण २०, २०८२ |नारायण किलम्बू
बाह्र कक्षा उत्तीर्णमध्ये आधाजसो विदेश पढ्न जाने तयारीमा, स्वदेशकै शिक्षामा विश्वास नहुँदा क्याम्पसहरूमा विद्यार्थी अभाव

काठमाडौं । कक्षा १२ मा बर्सेनि २ लाख ५० हजार विद्यार्थी पास हुन्छन् । तीमध्ये १ लाख २० हजारले वैदेशिक अध्ययन अनुमतिपत्र-एनओसी लिन्छन् । बाँकी डेढ लाख विद्यार्थी स्वदेशकै शिक्षण संस्थामा भर्ना हुनुपर्ने हो । तर, उच्च शिक्षा अध्यापन गराउने स्वदेशका शैक्षिक संस्थामा पनि बर्सेनि विद्यार्थी अभाव हुँदै गइरहेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई बधाइ दिँदै फेसबुकमा लेख्नुभयो-नानीबाबुहरू तपाईहरूको मिहिनेत सफल भयो । अब देशमै पढ्ने, देशमै केही गर्ने नयाँ यात्राको सुरूआत गरौं ।

प्रधानमन्त्रीले 'अब देशमै पढौं’ भने पनि तथ्यांकले भने त्यस्तो देखाउँदैन, बरू विदेश पढ्न जानेको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र उच्चशिक्षा अध्ययनका लागि १ लाख २३ हजार विद्यार्थीले विदेशमा उच्चशिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र–एनओसी लिए, जुन अघिल्लो वर्षभन्दा ११ हजारले बढी हो । 

यो वर्ष पनि कक्षा १२ मा नियमिततर्फ २ लाख ४२ हजार विद्यार्थी पास भए, अब केही दिनमै एनओसी लिनेहरूको चाप बढ्ने शिक्षा मन्त्रालयले जनाएको छ । नेपालमै पनि अन्तर्राष्ट्रियस्तरका विषय र जनशक्ति नभएका होइनन् । 

सूचना प्रविधि र व्यवस्थापनमा राम्रा विषयहरूको अध्यापन स्वदेशमै हुने गरेको छ । दुई दर्जन विश्वविद्यालयका १४ सयभन्दा बढी शिक्षण संस्था सञ्चालनमा छन् । यिनमा स्नातक तहमा मात्र ३ लाख ५० हजारभन्दा बढी विद्यार्थी भर्ना गर्नसक्ने क्षमता छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गतवर्ष कक्षा १२ मा ५२ प्रतिशत अर्थात २ लाख ३५ हजार विद्यार्थी पास भएका थिए । जसमध्ये नेपालका शिक्षण संस्थामा करिब डेढ लाख जतिमात्र भर्ना भएको पाइन्छ । विद्यार्थीहरू विदेशिने क्रम बढ्दै जाँदा शिक्षण संस्थाहरूमा विद्यार्थी अभाव भएको अनुदान आयोगका अधिकारीहरूको भनाइ छ ।

शिक्षण संस्थाहरूमा भइरहेको राजनीतिक हस्तक्षेप र समयमै पठनपाठन परीक्षा तथा नतिजा प्रकाशित नहुँदा पनि स्वदेशका शिक्षण संस्थाप्रति विद्यार्थीको रूचि घट्दै गएको छ । त्यसमाथि पढ्दै कमाउँदै र उतै स्थायी बसोबासको अवसर पाउने लोभमा पनि विद्यार्थी विदेश नै जान चाहिरहेका हुन्छन् ।

त्यसो त विगतमा निकै प्रतिस्पर्धात्मक मानिएका त्रिविका इन्जिनियरिङ, चिकित्सा तथा व्यवस्थापन विषयहरूमै पनि आजकाल कोटाअनुसार विद्यार्थी भर्ना भएको पाइँदैन् । यि सबै कुरा थाहापाउनु भएका प्रधानमन्त्रीले फेसबुकमा अब देशमै पढ्ने, देशमै केही गर्ने नयाँ यात्राको सुरूआत गरौं भनेर मात्रै युवा पुस्ता देशमै अडिने स्थिति छैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।