काठमाडौं । त्रिभुवन विश्वविश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तगर्तका पाँच वटा आंगिक क्याम्पसमा एक सातादेखि पठनपाठन ठप्प छ । इन्जिनियरिङ अध्ययन संस्थानको विकेन्द्रीकरण र स्वायत्त अधिकार खोसिएको भन्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प भएको हो ।
संस्थानको २६ वर्षदेखि कार्यान्वयन भइरहेको विकेन्द्रीकरण र स्वायत्तता सम्बन्धी अधिकार पुनःस्थापनाको माग गर्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएपछि पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित भएका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थानले भने प्राध्यापकहरूले राखेका मागका विषयमा छलफल भइरहेको जनाएको छ ।
कहिले प्राध्यापक त कहिले विद्यार्थीले गर्ने आन्दोलनका कारण पठनपाठन प्रभावित हुने गरेको छ । यसले दक्षिणएसियाकै इन्जिनियरिङ शिक्षामा अब्बल संस्थाको गुणस्तरसँगै अन्तर्राष्ट्रिय छविमा नराम्रो असर परेको शिक्षाविद् बताउँछन् ।
इन्जिनियरिङ अध्ययन संस्थान र आंगिक क्याम्पसका विभागीय प्रमुखहरू संयुक्त राजीनामा दिएर आन्दोलनमा उत्रिएका हुन् । अध्ययन संस्थानअन्तर्गत ५ वटा आंगिक क्याम्पसमा १५ हजारभन्दा बढी इन्जिनियरिङका विद्यार्थी अध्ययनरत छन् ।