सीटीईभीटीअन्तर्गत स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया सञ्चालन गर्न माग गर्दै आन्दोलन

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सीटीईभीटीअन्तर्गत स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया सञ्चालन गर्न माग गर्दै आन्दोलन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहको स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया सञ्चालन गर्न माग गर्दै शिक्षण संस्था सञ्चालक र शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

कक्षा ११ मा भर्ना प्रक्रिया सकिन लाग्दा समेत नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायत स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया रोकेर हजारौं विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सले आजदेखि सीटीईभीटीमा धर्ना दिएको हो । भर्ना प्रक्रिया सुरु नगरेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने शिक्षण संस्था सञ्चालक र शिक्षकहरूको भनाइ छ ।

सीटीईभीटी अन्तगर्त डिप्लोमा तहको स्वास्थ्य शिक्षा पठनपाठन हुने २ सय ८३ शिक्षण संस्था छन्, जसमा १३ वटा विषयका ५ सय ५१ वटा कार्यक्रम सञ्चालनमा छन् । १९ हजार सिट क्षमता रहे पनि हरेक वर्ष समयमै भर्ना प्रक्रिया सुरु हुन नसक्दा धेरै शिक्षण संस्थामा विद्यार्थी अभाव हुने गरेको छ । सत्तारुढ दल एमालेनिकट अनेरास्ववियुले पनि सीटीईभीटीका सदस्य–सचिवलाई ज्ञापनपत्र बुझाउँदै तत्काल भर्ना सुरु गर्न माग गरेको छ ।

सीटीईभीटीले भने चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण नगर्दा भर्ना प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले भन्ने स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालनमा देखिएको समस्या छिटै टुंगोमा पुर्‍याइने जनाएको छ । एसईई नतिजा लगत्तै स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया अगाडि बढाउनुपर्नेमा सीटीईभीटी र चिकित्सा आयोगबीचको विवादले विद्यार्थी मारमा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.