काठमाडौं । धेरैजसो नेपालीले रमझम र उत्सवका रुपमा नयाँ वर्ष मनाइरहँदा सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकले भने सडकमा प्रदर्शन गरेर नयाँ वर्ष मनाएका छन् । १३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले नयाँ वर्षको शुभकामना पनि सडकमै आदान–प्रदान गरे । शैक्षिक हड्तालसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुका आन्दोलनका कारण आजदेखि सुरु भएको नयाँ शैक्षिकसत्रसमेत प्रभावित भएको छ ।
नयाँ वर्ष २०८२ कतै जात्रापर्व त कतै नाचगान, खुशीयाली र उमंगका साथ मनाइरहँदा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले भने सडकमै आन्दोलनका रुपमा मनाएका छन् । उनीहरुले पेशागत हकहित सुनिश्चितताको माग गर्दै सडकमै एक आपसमा शुभकामना आदान–प्रदान गरे ।
सरकारसँग भएको पूर्वसहमतिअनुसार पेशागत हक हित सुनिश्चित हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग उनीहरुको छ। यही माग लिएर सामुदायिक विद्यालयका शिक्षक तथा कर्माचारी १३ दिनदेखि काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका हुन् । नयाँ वर्ष र नयाँ शैक्षिक सत्र प्रारम्भ भएकै दिन पनि उनीहरुले आन्दोलनलाई निरन्तरता दिए ।
सडक आन्दोलन र शैक्षिक हड्तालका कारण धेरैजसो सामुदायिक विद्यालयले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा नै प्रकाशित गर्न सकेका छैनन् । सोमबारदेखि प्रारम्भ भएको नयाँ शैक्षिक सत्रसमेत प्रभावित भएको छ । विद्यालयहरुले शैक्षिक क्यालेन्डरसमेत अलपत्र छ । जसले गर्दा देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कहिलेदेखि पठाइ सुरु हुन्छ भन्ने यकीन छैन ।
त्यसो त शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका पेशागत हक–हित र वृत्ति विकासको विषय मन्त्रिपरिषद्बाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । तर निर्णय नभएसम्म आन्दोलन स्थगित गर्न शिक्षकहरुले मानेका छैनन् । त्यति मात्र नभएर शिक्षकहरु मन्त्रालयसँग औपचारिक वार्तामा समेत बस्न नमान्दा शिक्षक आन्दोलन झन् पेचिलो बनेको छ ।
सरकारले आन्दोलन स्थगित गर्न पटक–पटक आग्रह गरेको छ । शिक्षकका कतिपय माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । त्यो तत्काल सम्भव देखिँदैन । लाखौं बालबालिकाको पठनपाठन रोकिएको र शैक्षिक क्षेत्र नै अस्तव्यस्त हुने गरी भइरहेको गतिरोध अन्त्य गर्न सरकार र आन्दोलनरत शिक्षक लचक भएर वार्ता र संवादको माध्यमबाटै समाधान खोज्नुको विकल्प छैन ।