जेन-जी आन्दोलन : आगजनीबाट कर्णाली प्रदेशसभामा चार करोडकाे क्षति, संसद् बैठकका रेकर्डहरू नष्ट

आश्विन २, २०८२ |देव राना|कमल पन्त
जेन-जी आन्दोलन : आगजनीबाट कर्णाली प्रदेशसभामा चार करोडकाे क्षति, संसद् बैठकका रेकर्डहरू नष्ट

सुर्खेत । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा करिब चार करोड रुपैयाँको क्षति पुगेको छ । 

आगजनी र तोडफोडका कारण प्रदेशसभाका सबै दस्ताबेजहरू र संसद् बैठकका रेकर्डहरू नष्ट भएका छन् । प्रदेशसभाको बैठक कक्ष पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ भने विषयगत समितिका बैठकहरू पनि प्रभावित हुने भएका छन् ।

जेन-जीको आन्दोलनपछि कर्णाली प्रदेशसभा खण्डहर बनेको छ । पदाधिकारी र कर्मचारीसम्मका कार्यकक्षदेखि विषयगत समिति र संसदीय दलका कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको छन् । 

फर्निचर र इलेक्ट्रोनिक्स सामग्रीहरु खरानी भएका छन् । अधिकांश संरचनाहरुमा आवश्यक सामग्रीहरु बस्दोबस्त र रंगरोगनपछि काम चलाउन सकिने अवस्थामा छन् । तर प्रदेशसभाको सबैभन्दा महत्वपूर्ण मानिने बैठक कक्ष भने पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

आन्दोलनकारीले प्रदेशसभाका विभिन्न संरचनाहरुमा तोडफोड र आगजनी गर्दा कुल तीन करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबर क्षति भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार इलेक्ट्रोनिक्स सामग्रीतर्फ २ करोड २० लाख, भवनतर्फ १ करोड ६ लाख ५७ हजार, फर्निचर सामग्रीतर्फ ५४ लाख, सवारी साधनतर्फ ४ लाख २८ हजार र अन्य सामग्रीहरुतर्फ ९ लाख ६७ हजार रुपैयाँ बराबर क्षति भएको छ ।

आगजनी र तोडफोडबाट प्रदेशसभाका चार वटै विषय समितिमा रहेका कुनै पनि सामग्रीहरु प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् । यही कारण तत्काललाई समितिका बैठक पनि प्रभावित हुने भएका छन् ।

आन्दोलनकारीले दर्शक दीर्घा, रेकर्ड तथा प्रसारण कक्षमा समेत आगजनी गरेका थिए । संसद् बैठकको प्रत्येक्ष प्रसारण गर्नका लागि जडान गरिएको कन्ट्रोल रुममै आगो लागेपछि बैठकका सबै रेकर्डहरु नष्ट भएका छन् ।

आन्दोलनकारीले प्रदेश सभाको एउटा स्कुटर र एउटा मोटरसाइकल, कार्यक्रम हल र पुस्तकालयमा पनि आगजनी र तोडफोड गरिएको छ । सभामुख, उपसभामुख, दलका नेताहरु, प्रमुख सचेतकहरु र विषयगत समितिका सभापतिहरुले प्रयोग गर्ने सवारी साधन भने आन्दोलन अघि नै प्रहरीलाई जिम्मा लगाइएका कारण तोडफोड र आगजनी हुनबाट जोगिएका छन् । 


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।