काठमाडौं । भदौ २४ गतेको तोडफोड र आगजनीबाट होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति भएको आकलन गरिएको छ ।
जसमा अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा मात्रै भएको ८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ । पर्यटकीय सिजन सुरु भएकै बेला होटल क्षेत्रमा भएको यो आक्रमणले समग्र पर्यटन क्षेत्र नै खलबलिएको छ ।
अन्तर्राष्ट्रिय चेन होटल हिल्टन गत वर्षको साउनदेखि सञ्चालनमा आएसागै पर्यटन क्षेत्रमै उत्साह छाएको थियो । तर एक वर्ष नबित्दै प्रदर्शनकारीको निशानामा परेर खरानी भएपछि व्यवसायीहरु चिन्तित छन् ।
आगलागीबाट होटलमा ८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । १ सय ७२ कोठा जलेर नष्ट छन्, जसले विश्वमा नै नकारात्मक सन्देश गएको छ । भदौ २३ र २४ को तोडफोड र आगजनीपछि ३० प्रतिशतभन्दा बुकिङ रद्ध भएका छन् ।
हिल्टनसहितका होटलमाथिको सांघातिक आक्रमणले आगामी दिनमा नेपालमा बाह्य लगानी भित्र्याउन समस्या हुन सक्ने व्यवसायीको भनाइ छ । व्यापारिक घराना शंकर समूहको लगानी रहेको हिल्टनले निर्माणका बेलादेखि नै अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको थियो ।
खासगरी यसको आर्किटेक्ट र डिजाइन आकर्षणको विषय बनेको थियो । साढे ८ अर्बमा बनेको १७ तलाको होटल एकै निमेषमा तहसनहस भएपछि विश्वकै पर्यटन क्षेत्रले समेत दुःख व्यक्त गरेको छ ।