काठमाडौं । बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
८ प्रमुख ट्रेड युनियनहरुको आह्वानमा देशव्यापी प्रदर्शन गरिएको हो । उनीहरुले अघिल्लो सरकारको वित्तीय योजना खारेज गर्न, सार्वजनिक सेवाहरुमा बढी खर्च गर्न, धनीहरुमाथि उच्च कर लगाउन र पेन्सन पाउन लामो समयसम्म काम गर्न बाध्य पार्नेजस्ता व्यवस्था परिवर्तनको माग गरेका छन् ।
ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको अन्यायपूर्ण वित्तिय योजना अस्वीकार गरिएको जनाएका छन् । प्रदर्शनका कारण राजधानी पेरिस आसपासका यातायात सेवा पूर्ण रुपमा प्रभावित भएका छन् ।
पेरिस मेट्रो सेवा सीमित रुपमा चलेको छ भने क्षेत्रीय रेल सेवा अवरुद्ध भएको छ । यस्तै, विद्यालयहरुमा पनि ठूलो असर परेको छ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा फार्मासिस्टसमेत सडकमा उत्रिएका छन् ।
स्थानीय समयअनुसार बिहान ११ बजेसम्म देशभर २ सय ३० भन्दा बढी प्रदर्शन भएका थिए । गृह मन्त्रालयले देशभर गरी ६ देखि ९ लाखसम्म प्रदर्शनकारीले भाग लिने अनुमान गरेको छ भने प्रदर्शन नियन्त्रण गर्न देशभर ८० हजार प्रहरी परिचालन गरिएका छन् ।