काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरूले आज माइतीघरदेखि बानेश्वरसम्मको सडकमा यातायात आवागमन अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।
सरकारले पटक-पटक वार्ताका लागि आह्वान गर्दै आए पनि शिक्षकहरूले अस्वीकार गर्दै प्रदर्शन जारी राखेका हुन् । हिजो मात्रै सरकारले वार्तामा आउन आग्रह गरेको थियो । शिक्षकहरूले २५ चैतदेखि अनिश्चित शैक्षिक हडताल गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री तहबाटै वार्ता गर्नुपर्ने र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने अडान राखेका छन् ।
शिक्षकहरूले संसद्को विशेष अधिवेशन बोलाएर ऐन पारित गर्नुपर्ने, अध्यादेश जारी गर्नुपर्ने र संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने ग्यारेन्टी गर्नुपर्ने विकल्प सरकारलाई दिएका छन् । शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण विद्यालयको भर्ना प्रक्रिया नै प्रभावित भएको छ ।