काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षकहरुको माग सम्वोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पार्टी शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गरी शिक्षकहरुको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने माग गर्नुभएको हो । शिक्षकहरुसँग सरकारले यसअघि गरेको सहमतिअनुसार विद्यालय शिक्षा ऐन तत्काल ल्याउने वातावरण बनाउन पनि महरले विज्ञप्ति उल्लेख गर्नुभएको छ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्को विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पुरा गर्न सरकारसँग माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै शिक्षकका मागलाई प्राथमिकतामा राखेर संसद्को विशेष अधिवेशन वा अन्य कुनै उपायबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्नुभएको हो ।
माओवादी केन्द्रले आन्दोलनरत शिक्षकका मागप्रति ऐक्यबद्धता जनाउँदै आमनागरिकलाई शिक्षकका पक्षमा उभिन पनि आह्वान गरेको छ । अध्यादेशहरुका प्रतिस्थापन विधेयक पारित गराउँदा शिक्षा ऐनलाई बेवास्ता गरेको आरोप पनि माओवादीले लगाएको छ ।
संविधानमा आम नागरिकले शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म संघीयताको मर्मअनुरुप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने पनि माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।