शैक्षिक हडतालमै उत्रिएका शिक्षकहरुको आन्दोलन जारी, आज कालो मास्क लगाएर मौन प्रदर्शन

चैत्र २५, २०८१ |नारायण किलम्बू
शैक्षिक हडतालमै उत्रिएका शिक्षकहरुको आन्दोलन जारी, आज कालो मास्क लगाएर मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।

शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरुले माइतीघरमा कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि शिक्षकहरुले कहिले सडकमै नाचगान गरेर त कहिले सिटी फुकेर सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

शिक्षकहरुले आजदेखि शैक्षिक हड्तालसमेत सुरु गरेका छन् । सरकारले आफूहरुका माग बेवास्ता गरेको भन्दै शैक्षिक हड्ताल सुरु गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । 

महासंघले घोषणा गरेको शैक्षिक हड्तालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ । हड्तालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाखभन्दा बढी विद्यार्थीको उत्तर पुस्तिका परीक्षणसमेत ढिलाइ हुने भएको छ । चैत महिना विद्यालयहरुमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकासनसहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालन गर्ने समय हो ।

सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ । यसअघि २०८० साल असोजमा पनि शिक्षकहरुले काठमाडौंमा ३ दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि उनीहरु विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएको हुँदा माग र सहमति ऐनमा समावेश हुने सुनिश्चित नभएकाले पुनःआन्दोलन घोषणा गर्नुपरेको आन्दोलनमा सहभागी शिक्षकहरुको भनाइ छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।