काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले हिजो यस्तो आदेश जारी गरेको हो । अदालतले आन्दोलनरत शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्नेसम्बन्धमा उचित निर्णय गरी तीन दिनभित्र शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न आदेश दिएको छ ।
शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् भने चैत २५ गतेदेखि शैक्षिक हडतालमा उत्रिँदा विद्यालयको पठनपाठन ठप्प छ । हडतालकै कारण कक्षा १२ को परीक्षासमेत सारिएको छ ।