राजनीतिक दलबीचको मतभेदले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

६ महिनादेखि तलब भत्ता नपाउदा बाध्य भएको उपप्राध्यापक तथा कर्मचारीको दाबी
फाल्गुन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलबीचको मतभेदले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

सप्तरी । राजनीतिक दलहरूबीचको मतभेदले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी भएको छ । मधेश प्रदेश सरकारका गौरवका योजनाहरूमध्येको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा आज उपप्राध्यापक र कर्मचारीहरूले तालाबन्दी गरेका हुन् ।

मधेश प्रदेश सरकारको नेतृत्वकर्ता दल जनमत पार्टी र यसअघिका नेतृत्वकर्ता दल जसपा नेपालबीच देखिएको मतभिन्नताको असर मधेश कृषि विश्वविधालयमा परेको हो । २०८० को माघमा विश्वविधालयको भवन शिलान्यासको क्रममा जसपा नेपाल र जनमत पार्टीबीच भएको विवादपछि विश्वविद्यालयमाथि गठन भएको छानबिन समितिको छानबिन अझ नसकिँदा समस्या बल्झिँदै गएको छ । 

यही कारण विश्वविधालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले पछिल्लो ६ महिनादेखि तलब भत्ता नपाउदा बाध्य भएर आज तालाबन्दी गर्नुपरेको संर्घषरत पक्षले जनाएको छ । उनीहरूले विश्वविधालयका उपकुलपति डा. वैधनाथ महतोको कार्यकक्ष सहित विश्वविधालय प्रशासन र कक्षकोठा भवनमा समेत तालाबन्दी गरेका हुन् ।

विद्यार्थीले राजनीति किचलोले आफूहरूको भविष्य अन्धयकारतर्फ धकलिँदै गएकोले चाँडै समस्याको समाधान निकाल्न मधेश प्रदेश सरकारसमक्ष आग्रह गरेका छन् ।

तीन वर्षअघि जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारले विश्वविधालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति गरेको थियो । तर, अहिले जनमतको सरकार भएकाले उसले पनि आफू अनुकूलको नियुक्ति गर्नका लागि तत्काल समस्या समाधान गर्न नखोजेको आरोप समेत लाग्ने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement