काठमाडौं । साढे ६ दशक पुरानो त्रिभुवन विश्वविद्यालयले आज १४ हजार विद्यार्थीलाई दीक्षित गरेको छ । यस वर्ष त्रिविका विभिन्न तहबाट ७४ हजार विद्यार्थी उत्तीर्ण भए पनि ५० औं दीक्षान्त समारोहमा १४ हजार मात्र सहभागी भएका हुन् । देशमा बेरोजगारी समस्या बढीरहेका बेला ठूलो संख्यामा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई भने आफ्नो भविष्यलाई लिएर चिन्ता देखिएको छ । स्वदेशमै केही गर्ने धोको बोकेका दीक्षित विद्यार्थीलाई अवसर नपाइने हो कि भन्ने चिन्ता छ ।
यस वर्ष शिक्षा संकाय स्नातक तहको महिलातर्फ सर्वोत्कृष्ट भइ दीक्षान्त पदक प्राप्त गरेकी संगीता प्रजापतिले आफूले प्राप्त गरेको ज्ञान र हासिल गरेको शीप शिक्षा क्षेत्रमै लगाउने प्रण गर्नुभयो । विकासको मेरुदण्ड मानिएको शिक्षाको गुणस्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रजापतिले आफूले शिक्षण पेशा नै रोज्ने बताउनुभएको हो ।
व्यवस्थापन संकायको एम बीएसतर्फ स्नातकोतर तहमा सर्वोत्कृष्ट हुन सफल रेविका भण्डारीको पनि स्वदेशमै बसेर देशको विकासका लाग्ने योजना बनाउनुभएको छ । यस्तै एमए अन्तर्राष्ट्रिय सम्वन्धमा सर्वोत्कृष्ट हुँदै स्वर्ण पदक हासिल गरेका सफल प्रतीकराज जोशीले पनि विदेश जानुको सट्टा यही अवसर खोज्ने बताउनुभयो ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी, एमफिल, स्नातकोत्तर र स्नातक तहका गरी ७४ हजार विद्यार्थी उत्तीर्ण भए पनि १४ हजार ३ सय ८ जना मात्र शनिबार दीक्षित भए । उनीहरुमध्ये अधिकांशको योजना देशमै बसेर केही गर्ने छ । तर रोजगारी र अवसर नपाइने हो कि भन्ने चिन्ता पनि सँगसँगै छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री विद्या भट्टराईले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई विद्यमान चुनौतीको सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो ।
देशकै पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय सामु थुप्रै चुनौती छन् । विद्यार्थीलाई रोजगार र सीपसँग जोड्ने गरी समयसापेक्ष पाठ्यक्रम र नयाँ शैक्षिक कार्यक्रम निर्माण चुनौती त्रिविलाई छ । तर शैक्षिक क्षेत्रमा हुने हस्तक्षेप र राजनीतिका कारण सुधारको प्रयासमा बाधा सिर्जना भइरहेको विश्वविद्यालयको बुझाइ छ ।
काठमाडौंको दशरथ रंगशालामा दीक्षान्त समारोह मनाइ रहँदा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागहरु बन्द हडतालको चपेटामा छन् । प्राज्ञिक थलो विश्वविद्यालयलाई राजनीतिक हस्तक्षपबाट मुक्त गर्दै विदेशिने विद्यार्थीलाई रोक्न, विश्वविद्यालयमा देखिएका चुनौतिहरु सामना गरी अघि बढ्नुपर्ने टड्कारो खाँचो छ ।