बाढीले बगाएको जुम्लाको नेत्रज्योति माविको नयाँ संरचना बनेपछि अभिभावक र विद्यार्थीलाई ढुक्क

कार्तिक २८, २०८१ |डीबी बुढा
बाढीले बगाएको जुम्लाको नेत्रज्योति माविको नयाँ संरचना बनेपछि अभिभावक र विद्यार्थीलाई ढुक्क

जुम्ला । चार वर्ष पहिले गिडिखोलाको बाढीले बगाएको जुम्ला तातोपानी-४ स्थित नेत्रज्योति मावि हाँकु पहिलेकै अवस्थामा फर्किएको छ । बाढीले विद्यालयमा बनेका संरचना बगाउनुका साथै तहसनहस बनाएको थियो । जसले विद्यार्थीहरु विद्यालय जानसमेत जोखिम थियो । तर, अहिले पक्की संरचना बनेपछि ढुक्कसँग अध्ययन गर्ने वातावरण बनेको छ ।

विद्यालयको कक्षकोठामा बालुवा थुप्रिएको, झ्यालढोका फुटेको, डेस्कबेञ्च बगाएको दृश्य सम्झिँदा अहिले पनि विद्यार्थी र अभिभावक बेचैन हुन्छन् । त्यसैले बाढीपछि बालबालिका विद्यालय पठाउँदा अभिभावकहरु जहिल्यै झस्किन्थे । 

विद्यार्थीलाई फेरि बाढी आउने हो कि भन्ने सन्त्रास भइरहन्थ्यो । आकाशमा बादल मडारिने बित्तिकै गिडिखोला चिहाएर बस्नुपर्ने अवस्था थियो । तर, अब यो जोखिम हटेको छ । बाढीले बगाएको चार वर्षपछि विद्यालयका सबै संरचना लगभग बनेका छन् । तातोपानी-४ गिडिखोलाका अभिभावक विष्णुलाल पाण्डे भन्नु हुन्छ, 'अहिले विद्यार्थीले ढुक्कसँग पढ्नसक्ने अवस्था भइसकेको छ ।'

बाढीले बगर बनेको विद्यालय बन्ला भनेर स्थानीयले विश्वास गर्न सकेका थिएनन् । सबै अभिभावकले बाढीले थुपारेको रोडाबालुवा पन्छाउन असहज हुने भन्दै विद्यालय सार्न दबाव दिइरहेका थिए । तर, विद्यालय प्रशासन र व्यवस्थापन समितिको पहलमा पक्की भवन बनेपछि अभिभावक खुसी छन् । विद्यालयको नयाँ भवनसँगै खोला छेक्न बलियो तटबन्ध बनेकाले विद्यार्थीहरु सहजै विद्यालय आउने र सुरक्षित रुपमा अध्ययन गर्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनप्रसाद खत्री बताउनु हुन्छ ।

अहिले बनेको विद्यालय भवन अपाङ्गमैत्री छ । डेस्कबेन्च पनि बलियो बनेका छन् । विद्यालयमा हाल ५ सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

२०७८ कात्तिक १ गते परेको अबिरल वर्षाले गिडिखोलामा बाढी आएर विद्यालय संरचनाहरु क्षतविक्षत बनाएको थियो । ६ सय ५० वर्गमिटर घेराबारको निसाना नदेखिने गरी बाढीले विद्यालय बगाएको थियो ।

नेत्रज्योति माविका प्रधानाध्यापक सम्झिनु हुन्छ, 'त्यसबेला पक्की भवन बनिरहेका थिए । डिजिटल प्रविधिको प्रयोग सुरु भइरहेको थियो । तर, बाढीले सबै बगाइदिएपछि सुरुदेखि काम गर्नुपर्ने बाध्यता आइलाग्यो ।'

प्रहरी मुचुल्कामा बाढीले १ करोड ६६ लाख ३५ हजार रुपैयाँको क्षति पुगेको उल्लेख छ । चार करोडभन्दा बढी लागत इस्टिमेटमा बनिरहेको भवन निर्माणमा ३ करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ । संघीय सरकार शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरअन्तर्गत नमूना विद्यालय गुरुयोजनाअनुसार नेत्रज्योति मावि निर्माणको काम भएको हो ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement