विश्वविद्यालयको उपकुलपतिका लागि पटक-पटक विज्ञापन हुँदा पनि परेन आवेदन

कानुन संशोधन गरेर मापदण्ड फेर्न समितिको सुझाव
मंसिर १९, २०८२ |नारायण किलम्बू
विश्वविद्यालयको उपकुलपतिका लागि पटक-पटक विज्ञापन हुँदा पनि परेन आवेदन

काठमाडौं । विश्वविद्यालयको उपकुलपति पदका लागि पटक-पटक विज्ञापन हुँदा पनि एउटा पनि निवेदन परेन । 

यो भन्दा उदेकलाग्दो कुरा त के छ भने उपकुलपतिका लागि तोकिएको मापदण्ड पूरा गरेका व्यक्ति देशभर नै भेटिएनन् । जसका कारण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले कानून नै संशोधन गरेर फेरि विज्ञापन गर्न शिक्षा मन्त्रीलाई सुझाव दिएको छ ।

चिकित्सा शिक्षासम्बन्धी अध्ययन अध्यापन हुने मुलुकको पहिलो विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति पदका लागि कार्तिक १६ गते पहिलो पटक विज्ञापन आह्वान गर्यो । १५ दिनको समयावधि भित्र कुनै पनि आवेदन नपरेपछि उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले फेरि अर्को विज्ञापन मंसिर १ गते गर्यो । 

पाँच दिनको समय दिएर समितिले दोस्रो पटक विज्ञापनमा गर्दा समेत उपकुलपतिका लागि कुनै पनि व्यक्तिको निवेदन परेन । यसअघि विश्वविद्यालय होस् वा पदाधिकारीहरूमा विज्ञापन वा सूचना आउनासाथ आवेदन दिनेहरूको ताँती लाग्ने गर्थ्यो । तर यसपटक कुनै पनि व्यक्तिको निवेदन परेन । यसको मुख्य कारण मापदण्डमा भएको कडाइ नै हो । मापदण्ड अनुरूपको योग्य व्यक्ति नहुँदा अहिले समिति नै अन्योलमा छ ।

उपकुलपति हुन चिकित्सा शिक्षामा डीएम एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने, प्राध्यापक पदमा रही कम्तिमा दश वर्ष काम गरेको, ३५ वर्ष उमेर नाघेको- ६१ वर्ष ननाघेको लगायतका मापदण्ड तोकिएको छ । पहिलो विज्ञापनमा एउटै निवेदन नपरेपछि सिफारिस समितिले यी मापदण्ड पुगेका व्यक्तिहरु कति छन् भनेर चिकित्सा विज्ञान प्रतिष्ठान र मेडिकल कलेज तथा अस्पतालहरूमा पनि सोधखोज गर्यो । सिफारिस समितिले यी मापदण्ड पुगेका व्यक्ति भेटाउनै सकेन ।

सबै योग्यता पुगेका व्यक्ति पाउन मुस्किल हुने भन्दै सिफारिस समितिले विश्वविद्यालयको कानून नै संशोधन गर्न शिक्षा मन्त्रीलाई सुझाव दिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।