सरकारले लगानी बढाउँदा पनि किन बढेन प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण ?

८६ हजार कोटामा २५ प्रतिशतले मात्र दिए प्रवेश परीक्षा
रोजगारीको अनिश्चितता मुख्य कारण
श्रावण १९, २०८१ |नारायण किलम्बू
सरकारले लगानी बढाउँदा पनि किन बढेन प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण ?

काठमाडौं । एक समय थियो, सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाप हुन्थ्यो तर अहिले विद्यार्थी खोज्नुपर्ने बेला आएको छ । नर्सिङ र फार्मेसीबाहेकका प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको हो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सीटीईभीटीअन्तर्गतका शैक्षिक संस्थामा ८६ हजार भर्ना क्षमता रहेकोमा शनिबार सञ्चालित प्रवेश परीक्षामा २५ प्रतिशत मात्र सहभागी भए । राजनीतिक दबाबका आधारमा जथाभाबी दिइएका सम्बन्धन, जनशक्ति अभाव र रोजगारी सुनिश्चित नहुँदा प्राविधिक शिक्षाप्रति आकर्षण घट्दै गएको छ । 

काठमाडौंको शंखरापुर बहुप्राविधिक शिक्षालयमा इन्जिनियरिङका ५ वटा विषयमा २ सय १६ भर्ना क्षमता रहेकोमा ५४ जना अर्थात् २५ प्रतिशतले मात्र प्रवेश परीक्षा दिएका छन् । हरेक विषयमा ४० जनाको भर्ना क्षमता रहेकोमा सिभिलमा २३, जियोमेटिक्समा २२, आर्किटेक्टमा १, अटोमोबाइलमा ६ र हाइड्रोपावर इन्जिनियरिङका लागि ५ जनाले मात्र प्रवेश परीक्षा दिए । 

सीटीईभीटीअन्तर्गत ६५ वटा आंगिक, ५८ वटा साझेदारी, ४ सय ७ निजी र ६ सय ३९ वटा सामुदायिक शिक्षालय छन् । यिनमा ८६ हजार भर्ना क्षमता रहेकोमा शनिबार सञ्चालन भएको प्रवेश परीक्षामा करिब २५ प्रतिशत मात्र सहभागी भए । 

स्वास्थ्यतर्फ नर्सिङ र फार्मेसीमा धेरैले आवेदन दिए पनि स्वास्थ्यकै अन्य विषयमासमेत विद्यार्थी कम छन् । राजनीतिक दबाबका आधारमा जथाभाबी सम्बन्धन दिइनु, शिक्षण जनशक्ति उपलब्ध नगराउनु र १२ कक्षापछि उच्चशिक्षा अध्ययनका लागि धेरै विद्यार्थी बिदेसिँदा प्राविधिक शिक्षा पढ्ने विद्यार्थी नभएको सीटीईभीटीकै अधिकारीहरू बताउँछन् । 

सरकारले प्राविधिक शिक्षामा प्रति विद्यार्थी प्रतिवर्ष १ लाख १० हजार रुपैयाँ खर्चिँदै आएको छ भने विद्यार्थीको पहुँच बढाउन बर्सेनि ६ अर्ब रुपैयाँ लगानी गर्दै आएको छ । तर, प्राविधिक शिक्षाको गुणस्तर खस्किएको त छ नै, रोजगारीका अवसरसमेत नहुँदा विद्यार्थीको आकर्षण अन्य विषयतिर गएको देखिन्छ । 

सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ तर लगातार विद्यार्थी घट्दै जाँदा देश विकासका लागि आवश्यक प्राविधिक जनशक्ति नै अभाव हुन सक्ने स्थिति देखिनु चिन्ताको विषय हो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement