बंगलादेशबाट ८ सय नेपाली विद्यार्थी फर्किए

बंगलादेशको अवस्था कस्तो छ ? स्वदेश फर्किएका नेपाली विद्यार्थीको अनुभव
श्रावण ६, २०८१ |नारायण किलम्बू
बंगलादेशबाट ८ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन हिंसात्मक हुँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी फर्कन थालेका छन् । बंगलादेशका विभिन्न शैक्षिक संस्थामा करिब पाँच हजार विद्यार्थी रहेकामा आजसम्म आठ सय विद्यार्थी हवाई तथा स्थलमार्गमार्फत फर्किएका छन् । अझै कैयौं विद्यार्थी स्वदेश फर्कने प्रतीक्षामा छन् ।

आरक्षण कोटाको विरोधमा उत्रिएका स्थानीय विद्यार्थीलाई खोज्दै प्रहरी होस्टेलमा समेत आउन थालेपछि विद्यार्थीहरुले झनै असुरक्षित महसुस गरे । उल्टै मेडिकल कलेजका विद्यार्थी बाहिर निस्किए प्रहरीले गोली हान्नेसमेत हल्ला सुनेपछि उनीहरु त्रसित भए ।

यस्तो अवस्थामा भरोसा बन्नुपर्ने हो नेपाली दूतावास । तर, आत्तिएका विद्यार्थीका फोनसमेत दूतावासका अधिकारीहरुले उठाइदिएनन् । आफ्नै खर्चमा एम्बुलेन्समा बसेर विमानस्थल पुग्नुपरेको नमिठो अनुभव आफूहरुमा रहेको विद्यार्थी दिलिपा सापकोटा बताउनुहुन्छ ।

शिक्षा मन्त्रालयका अनुसार बंगलादेशका विभिन्न विश्वविद्यालय र कलेजहरुमा एमबीबीएस, बीडीएस , इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न विधा र तहमा करिब चार हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । परराष्ट्र मन्त्रालयले आठ सय नेपाली विद्यार्थी हवाई तथा स्थलमार्गमार्फत स्वदेश फर्कंदै गरेको जनाएको छ । काँकडभिट्टा नाकाबाट साढे तीन सय विद्यार्थी फर्किएका छन् ।

परराष्ट्रले समस्यामा परेका विद्यार्थीलाई स्वदेश फर्काइने उल्लेख गर्दै उनीहरुको सहजताका लागि हेल्प डेस्क स्थापना गरेको छ ।

विस्तृत भिडियोमा :


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।