एसईई सकियो, के पढ्ने अब ?

श्रावण २, २०८१ |नारायण किलम्बू
एसईई सकियो, के पढ्ने अब ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा- एसईईपछि धेरैजसो विद्यार्थीले कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषय रोज्ने गर्छन् तर, यति मात्र नभई  विद्यार्थीका लागि स्वास्थ्य तथा प्राविधिक विषय र विदेशी बोर्डका कार्यक्रमहरू विकल्पका रूपमा छन्, जसबाट विद्यार्थीले आफ्नो ज्ञान र सीपको दायरा विस्तार गर्न सक्छन् । के हुन् त्यस्ता विषय ? 

एसईई पास गरेपछि कक्षा ११ र १२ अध्ययनका लागि नेपालमा स्वदेशी तथा विदेशी बोर्डका विभिन्न कार्यक्रम सञ्चालित छन् । स्वदेशी बोर्ड अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने हो भने नेपाल सरकारको स्वीकृति लिएका ५ हजार ६ सय शिक्षण संस्था छन् । यहाँ विद्यार्थीले विज्ञान, व्यवस्थापन, कानुन शिक्षालगायतका विषय अध्ययन गर्न सक्छन् । 

११, १२ बाहेक प्राविधिक शिक्षातर्फ नर्सिङ, फार्मेसी, आयुर्वेद, डेन्टलजस्ता स्वास्थ्य शिक्षाका विषय पनि पढ्न पाइन्छ । त्यसैगरी इन्जिनियरिङ, कृषि, वन, होटेल म्यानेन्जमेन्ट, आइटीलगायत गरी डिप्लोमा तहमा ४९ वटा विषय सीटीईभीटी अन्तर्गत ६ सय ८७ वटा शिक्षण संस्थामा अध्यापन हुन्छ ।

यसैगरी नेपालमा विदेशी बोर्ड अन्तरगत स्वीट्जरल्यान्डको आईबी डिप्लोमा, क्याम्ब्रिजको ए लेभल, सिबिएसईजस्ता शैक्षिक कार्यक्रममा समेतमा विद्यार्थी भर्ना हुन पाउँछन् । अभिभावकहरू भने विद्यार्थीको रुचिलाई ध्यानमा राखेर बोर्ड तथा विषय चयन गर्ने अभिभावकहरू बताउँछन् ।

स्वदेशी कक्षा ११ र १२, प्राविधिक तथा विदेशी बोर्ड अन्तर्गत अध्ययन गर्दा विद्यालय र बोर्ड अनुसार शुल्क भने फरक फरक छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement