एसईईपछि अधिकांश विद्यार्थीले यस कारण रोज्छन् ‘कमर्स’

असार १९, २०८१ |नारायण किलम्बू
एसईईपछि अधिकांश विद्यार्थीले यस कारण रोज्छन् ‘कमर्स’

काठमाडौं । एसईई पास भएपछि धेरै विद्यार्थीहरूको छनौटको विषय व्यवस्थापन अर्थात् कमर्स हुने गरेको छ । कक्षा १० पछि मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा, कानुनलगायतका विषय अध्ययन गर्ने विकल्प विद्यार्थीलाई छ । तर, विगतका तथ्यांकले विद्यार्थीको रुचि व्यवस्थापन विषयमै देखिएको छ । २०८० मा ४ लाख विद्यार्थी कक्षा ११ मा भर्ना भएकोमा सबैभन्दा बढी १ लाख ९७ हजार जना व्यवस्थापनमा भर्ना भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड अनुसार २०८० मा कक्षा १२ सम्म पढाई हुने देशभरका ५ हजार ६ सय शिक्षण संस्थामा कक्षा ११ मा ४ लाख विद्यार्थी भर्ना भएका थिए । तीमध्ये सबैभन्दा बढी व्यवस्थापन समूहमा १ लाख ९७ हजार ७ सय विद्यार्थी भर्ना भएका थिए भने शिक्षामा १ लाख २५ हजार, विज्ञानमा ६२ हजार ७ सय, मानविकीमा १० हजार र कानुनमा ३५ सय विद्यार्थी भर्ना भएका थिए ।

बैक तथा वित्तीय संस्थामा रोजगारी र माथिल्लो तहमा कम्प्युटर तथा सूचना प्रविधिलगायतका विषय अध्ययनका लागि अवसर पाउने भएकाले पनि व्यवस्थापन समूहमा विद्यार्थीको आकर्षण रहेको शिक्षक विद्यार्थी बताउँछन् । 

त्यसो त अन्य समूहको अध्ययनको महत्त्व पनि कम छैन । मानविकी र शिक्षाले प्राज्ञिक करिअरतर्फको भविष्य निर्धारण गर्छ भने विज्ञान विषय लिँदा इन्जिनियरिङ तथा चिकित्सा शिक्षाजस्ता क्षेत्रतर्फ जान सकिन्छ ।  

यस वर्षको एसईईमा २ लाख २२ हजार विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुपअनुसार कक्षा ११ मा नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन वा गणितमध्ये एक गरी ३ विषय अनिवार्य पढ्नुपर्छ । त्यसबाहेक समूहअनुसारका ऐच्छिक विषय छनोट गर्नुपर्ने हुन्छ । कक्षा ११ मा लिएको विषयले समग्र करिअरकै ढोका खोल्छ । 

यसैले अभिभावक र शिक्षकहरूको मार्गदर्शनको सहयोगमा विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसारको विषय रोज्ने गरेका छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।