एसईई पास त भइयो, अब कुन विषय रोज्ने ?

असार १७, २०८१ |नारायण किलम्बू
एसईई पास त भइयो, अब कुन विषय रोज्ने ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका अधिकांश विद्यार्थी आफूले अब पढ्ने उपयुक्त विषयको खोजीमा छन् । अभिभावकहरु पनि आफ्नो छोराछोरीले राम्रो विषय पढुन् भन्ने चाहन्छन् । तर कतिपय विद्यार्थी साथीभाइको लहलहैमा र अभिभावकको दबाबमा विषय छनोट गरिरहेका हुन्छन् । विज्ञहरुले भने आफ्नै इच्छा र रुचिको विषय छनोट गरी माथिल्लो तह अध्ययन गर्न सुझाव दिएका छन् ।

कस्तो करिअर बनाउने र भविष्यमा के बन्ने भनेर विद्यार्थी आफैंले निर्णय गर्नुपर्छ । आफूअनुकूल र रुचिअनुसारको विषय छनोटमा ध्यान दिनुपर्छ, न कि साथीभाइको लहलहै र देखासिकी ।

इन्जिनियरिङ तथा चिकित्सा शिक्षातर्फका विषय र अन्य प्राविधिक क्षेत्रमा रुचि भएका विद्यार्थीले विज्ञान विषय रोज्नुपर्ने हुन्छ । विज्ञान विषय पढेकाले कक्षा १२ पछि जुनसुकै विषय अध्ययन गर्न मिल्छ । योसँगै मानविकी, व्यवस्थापन, कानुन, शिक्षा तथा सीटीईभीटीका प्राविधिक र स्वास्थ्य शिक्षातर्फ पनि अध्ययन गर्न सक्ने धेरै विषय छन् ।

अभिभावकले छोराछोरीलाई यही विषय अध्ययन गर्नू भनेर दबाबभन्दा सही मार्गनिर्देशन दिन आवश्यक छ । विद्यार्थीको रुचिबाहेक सम्बन्धित कलेजको वातावरण तथा विगतका नतिजा, शिक्षकलगायत आधारमा कलेज छनोट गर्दा उपयुक्त हुने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको सुझाव छ ।

त्यसो त विद्यार्थी र अभिभावकले विषय र विद्यालय छनोट गर्दा आफ्नो आर्थिक क्षमतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा भने विद्यार्थीको रुचि अनुसारको विषय छनोट नै हो ।

हेर्नुहोस् नारायण किलम्बूका थप स्टोरी ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।