विषयगत शिक्षकको अभाव हुँदा एसईईमा अनिवार्य विषयमा नै धेरै विद्यार्थी फेल

असार १५, २०८१ |नारायण किलम्बू
विषयगत शिक्षकको अभाव हुँदा एसईईमा अनिवार्य विषयमा नै धेरै विद्यार्थी फेल

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा यस वर्ष सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुनुले समग्र शैक्षिक प्रणालीमाथि नै प्रश्न उठेको छ । जबकि यी तीनवटै विषय अनिवार्य हुन् ।

सरकारले विषयगत शिक्षकको व्यवस्था गर्न नसक्दा धेरै विद्यार्थी फेल भएका हुन् । एक त सरकारले दरबन्दीअनुसार शिक्षक नियुक्त गर्न सकेको छैन भने तीनवटा विषयगत शिक्षक त झनै कम छन् । हरेक विद्यालयमा अनिवार्य विषयका शिक्षकको व्यवस्था गर्न सरकारले नसक्दा एसईईको नतिजा नै कमजोर भएको हो ।

विद्यालय तहमा अहिले शिक्षकको चरम अभाव छ । विषयगत शिक्षक त पाइँदै-पाइँदैनन् भने विज्ञापन खोल्दा आवेदन पनि पर्दैन । अर्कोतर्फ विगत २५ वर्षदेखि सरकारले शिक्षक दरबन्दी थप पनि गरेको छैन । यही कारण हो- बिहीबार प्रकाशित एसइईको नतिजामा धेरै विद्यार्थी अनुत्तीर्ण भए ।

देशभर एक लाख नौ हजार शिक्षकको दरबन्दी रहेकामा सात हजार शिक्षकको पदपूर्ति भएको छैन । त्यसमाथि मावि र निमावि तहमा मात्रै थप ४१ हजार दरबन्दी अपुग छ । भएका शिक्षकलाई नयाँ पाठ्यक्रमअनुसार प्रशिक्षित तुल्याउन नसक्दा एसईईमा धेरै विद्यार्थी फेल भएको शिक्षाविद् मनप्रसाद वाग्लेको बुझाइ छ ।

शिक्षा मन्त्रालयका अनुसार विद्यालय तहको साबिक निमाविमा १८ हजार एक सय ४० र माध्यमिक तहमा १९ हजार तथा उच्च माविमा सात हजार आठ सय ९५ जना विषय शिक्षक नपुग छ । सरकारले गणित, विज्ञान र अंग्रेजी विषयमा शून्य दरबन्दी भएका विद्यालयलाई शिक्षण सहयोग बराबरको अनुदान दिँदै आएको छ ।

निमावि र माविका लागि सात हजार ८४ विषयगत शिक्षकलाई सरकारले अनुदान दिएको हो । शिक्षा मन्त्रालयको शिक्षक दरबन्दी मिलान प्रतिवेदनअनुसार विषयगत शिक्षकको अभावमा विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव परेको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।

त्यसो त स्थानीय तहहरुले विज्ञान, अंग्रेजी र गणितजस्ता विषयका शिक्षकको विज्ञापन गर्दासमेत आवेदन नै परिरहेको छैन । त्यसरी गरेको विज्ञापनमा शिक्षकको स्थायित्व नहुनु, राजनीति हाबी हुनु, शिक्षण पेसाप्रतिको रुचिमा कमीलगायत कारणले आवेदन नै कम पर्ने गरेको हो ।

शिक्षण पेसाप्रतिको रुचि बढाउँदै विषयगत शिक्षकको व्यवस्था नगर्दासम्म नतिजा मात्र राम्रो खोजेर हुँदैन । त्यसका लागि स्थानीय सरकारमा पुगेको विद्यालयको शिक्षा सुधार गर्न जनप्रतिनिधिहरु पनि उत्तिकै जिम्मेवार भएर थप लगानी गर्नुपर्नेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।