हरेक वर्ष उत्कृष्ट विद्यार्थी घोषणा गर्ने सरकारले पाँच वर्षदेखि दिएकै छैन पदक

आश्विन २, २०८१ |नारायण किलम्बू
हरेक वर्ष उत्कृष्ट विद्यार्थी घोषणा गर्ने सरकारले पाँच वर्षदेखि दिएकै छैन पदक

काठमाडौं । सरकारले शिक्षा दिवस मनाउने क्रममा यसपालि पनि उत्कृष्ट विद्यार्थीहरुलाई पदकको घोषणा गर्‍यो । २०७६ यता यसरी पदकको घोषणा गरिएका विद्यार्थीको संख्या १३ सय नाघिसकेको छ । तर, लाजमर्दो कुरा त के छ भने ती उत्कृष्ट विद्यार्थीहरुलाई दिने पदक नै सरकारसँग छैन । 

सरकारले पदक बनाउने बजेट अभावको बहाना देखाएर ५ वर्षदेखि वितरण गरेको छैन । घोषणा गरिएका पदक वितरण नगर्दा विद्यार्थीलाई प्रोत्साहनको सट्टा निरुत्साहित बनाएको विज्ञको भनाइ छ ।

सरकारले शिक्षा दिवसका अवसरमा बुधबार स्वदेश तथा विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधी गरेका २ सय ६४ सहित ३ सय ५५ जनाको नाम पदक प्राप्त गर्ने सूचीमा प्रकाशित गर्‍यो । तर, उनीहरुले पदक कहिले पाउँछन्, टुंगो छैन । यस वर्षमात्रै होइन, २०७६ देखि नै उत्कृष्ट घोषणा भएका ९ सय ६२ विद्यार्थीले समेत पदक पाउन सकेका छैनन् ।

शिक्षा मन्त्रालयका अनुसार सुनचाँदी जडित एउटा पदक बनाउन करिब ३० हजार रुपैयाँ लाग्छ । यो हिसावले हालसम्म पदकको घोषणा गरिएका १३ सय १७ जना विद्यार्थीका लागि पदक तथा प्रमाणपत्र बनाउन करिब ६ करोड रुपैयाँ लाग्छ । तर मन्त्रालयसँग पदकका लागि ५० लाख रुपैयाँ पनि बजेट छैन । सरकारसँग बजेट माग गर्दासमेत पाउन नसकिएको शिक्षाका उच्च अधिकारीहरु बताउँछन् ।

उत्कृष्ट घोषणा भएका विद्यार्थीले पदक नपाएको विषय यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, शिक्षा दिवसको समारोहमा उपस्थित हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस विषयमा चासो देखाउनु भएन । उच्चशिक्षा क्षेत्रमा गरेका अध्ययन अनुसन्धानलाई प्रोत्साहन स्वरुप शिक्षा पदक वितरण गर्ने घोषणा गरेर वितरण नगर्नु दुखदमात्र होइन विद्यार्थीमाथिको बेइमानिको संज्ञा दिन्छन विज्ञहरु ।

उच्चशिक्षामा विद्यार्थीले गरेको मिहिनेतलाई प्रोत्साहन स्वरुप सरकारले हरेक वर्ष शिक्षा दिवसका दिन विद्याभूषण क, ख, ग र नेपाल छात्रा पदकको घोषणा गर्छ । यसैगरी सर्वोत्कृष्ट विद्यालय र क्याम्पसहरुलाई नगद पुरस्कार पनि दिने गरेको छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement