शैक्षिक सत्र सुरु हुनुअघि नै जिल्ला-जिल्लामा पुगे पाठ्यपुस्तक, गुणस्तरमा भने प्रश्न

चैत्र २१, २०८० |प्रेम रौले|नारायण किलम्बू|आनन्द गौतम|दीपेन्द्र शाक्य
शैक्षिक सत्र सुरु हुनुअघि नै जिल्ला-जिल्लामा पुगे पाठ्यपुस्तक, गुणस्तरमा भने प्रश्न

काठमाडौं । विगतका वर्षमा शैक्षिक सत्र सकिने बेलासम्म बालबालिकाले पाठ्यपुस्तक पाउँदैनथे । अवस्था यस्तोसम्म थियो कि, पाठ्यपुस्तकको मुखै नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर, यसपालि भने त्यस्तो नहुने भएको छ, वैशाख २ देखि सुरु हुन लागेको शैक्षिक सत्रको सुरुमै विद्यार्थीका हातमा पुस्तक पर्नेछन् । तर, विद्यार्थीका हातमा समयमै पुगेका पाठ्यपुस्तकको गुणस्तरबारे कसैले ध्यान दिएको पाइँदैन ।

सुदूरपश्चिमको विकट जिल्ला बाजुरामा अघिल्ला वर्षहरुमा शैक्षिक सत्र शुरु भएको एक महिनापछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । तर, यसपालि भने नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै बाजुरामा पुस्तक बिक्रीवितरण सुरु गरी विद्यालयमा पठाउने क्रम सुरु भइसकेको जनक शिक्षा सामग्री केन्द्रका स्थानीय पुस्तक विक्रेताले बताएका छन् । जिल्लाका २ सय ५१ सामुदायिक विद्यालयमा ५१ हजार २ सय ४२ विद्यार्थीका लागि १ लाख १० हजार ३७ सेट पुस्तक आवश्यक पर्नेमा सबै बाजुरा पुगिसकेको छ ।

बाजुरा मात्र होइन ५० वटा जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुगिसकेका छन् । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार कक्षा १ देखि १० सम्ममा देशभर ४६ लाख ४५ हजार विद्यार्थी छन् । तिनका लागि २ करोड ५९ लाख थान पाठ्यपस्तक चाहिन्छ । कक्षा १ देखि ४ सम्म निजी क्षेत्र र ५ देखि १० सम्मका लागि जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइको जिम्मा पाएका थिए । सबै छपाइ पूरा गरी बिक्री वितरण सुरु गरिएको हो । भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने सरकारको उद्देश्य अनुरुप तीन साताअघिबाट पुस्तक बिक्री सुरु गरिसकेको जनक शिक्षाको दाबी छ ।

विद्यार्थीले समयमा पाठ्यपुस्तक त पाए । तर, तिनको गुणस्तर तपाईंले याद गर्नु भएको छ ? पुस्तक दुई-तीन महिना नपुग्दै काम नलाग्ने अवस्थामा पुग्छ । कतिपय विद्यार्थीले त एकै शैक्षिक सत्रमा ३ सेटसम्म फेर्नुपरेका उदाहरण छन् ।

तर, तोकिएकै मापदण्ड अनुसारको कागज प्रयोग गरिएको र पाठ्यपुस्तकसम्वन्धी नियामक निकाय पाठ्यक्रम विकास केन्द्रले गुणस्तर परीक्षणसमेत गरेको जनक शिक्षाको दाबी छ । विद्यालय तहको पाठ्यपुस्तकका लागि सरकारले बर्सेनि ३ अर्ब रुपैयाँ खर्च गर्दै आए पनि विद्यार्थी कमसल पुस्तक प्रयोग गर्न बाध्य छन् ।

सरकारी गुणस्तर पुगे पनि पाठ्यपुस्तकको गुणस्तर ठीक नभएको अभिभावकको गुनासो छ ।

विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनु सकारात्मक हो । तर, यसो भन्दैमा कमजोर गुणस्तरका पुस्तक छाप्नु बजेटको दुरुपयोगमात्र होइन, सरकारी गैरजिम्मेवारीपन पनि हो । यसतर्फ पनि बहस हुनु जरुरी छ ।

कान्तिपुर समाचारका लागि जिल्लासहकर्मीहरु प्रेम रौले आनन्द गौतम दिपेन्द्र शाक्य र क्यामेरामा राजेन्द्र महर्जनका साथ नारायण किलम्बू काठमाडौं ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।

Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।