लोकसेवा आयोगकै परीक्षामा अमर्यादित हर्कत

चिट चोर्न प्रविधिको समेत दुरुपयोग
जानकार भन्छन्- आयोगले पर्याप्त सूचना दिन सकेन
चैत्र २०, २०८० |जितेन्द्र झा
लोकसेवा आयोगकै परीक्षामा अमर्यादित हर्कत

काठमाडौं । सरकारी निकायमा स्थायी कर्मचारी हुन लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण हुनै पर्छ । सरकारी जागिर खाने र सेवा प्रवाह गर्ने लक्ष्य राखेर लोकसेवा आयोगको परीक्षामा सहभागी हुने कतिपय भने उल्टै कारबाहीमा पर्ने गरेका छन् । कतिले जानेर त कतिले नजानेर लोकसेवा आयोगको परीक्षामा गल्ती गर्दा केही वर्षसम्म परीक्षा नै दिन नपाउने गरी सजाय पाउने गरेका छन् । केही परीक्षार्थीले त यस्तोसम्म हर्कत गर्छन् कि- जुन परीक्षामा कल्पना पनि गर्न सकिँदैन ।

वन सेवाका केही पदमा प्रयोगात्मक परीक्षामा परीक्षार्थीले रुख चढ्ने र पौडी खेल्ने सीप देखाउनुपर्छ । लोक सेवा आयोगले वन सेवाअन्तर्गत गेमस्काउट पदका लागि लिएको शारीरिक तन्दुरुस्ती परीक्षामा अछामका रमेश विक रुख चढ्नुपर्ने थियो । श्रीराम मध्यवर्ती सामुदायिक वन, कञ्चनपुरमा भएको परीक्षामा उनले आफैँ रुख चढ्नुको सट्टा अर्कैलाई रुख चढ्न पठाए । त्यसपछि उनको परीक्षा रद्द गरियो । अब उनी दुई वर्षसम्म लोक सेवाको परीक्षामा सहभागी हुन पाउने छैनन् ।

काठमाडौंमा अमिनको परीक्षामा सहभागी रुकुम पश्चिमका दीपक नेपालीले एयरफोनबाट मोबाइलमा सम्पर्क गरी उत्तर लेखे । उनको पनि परीक्षा रद्द भयो र दीपकलाई दुई वर्षसम्म लोक सेवामा उम्मेदवार हुन अयोग्य रहने सजाय दिइयो । लोक सेवाको परीक्षामा स्मार्ट वाच, मोबाइल फोन आदिको प्रयोग वर्जित रहे पनि प्रविधिको प्रयोग गरेर चिट चोर्ने प्रवृत्ति बढ्दो छ ।

महोत्तरीको जलेश्वरमा सहयोगी राखेर खरिदारको परीक्षा दिएका स्याङ्जाका विनोदबाबु शर्मा नेपालको परीक्षा पनि आयोगले रद्द गरेको छ । कारण थियो- सहयोगी राखेका उनले आफैंले पनि लेखे । परीक्षार्थीले आफै लेख्न नसक्ने अवस्थामा सहयोगी राख्न पाउँछन् तर परीक्षार्थीले आफै लेख्न पाउँदैनन् । महेन्द्रनगरमा खरिदारको परीक्षा दिँदा केन्द्राध्यक्षले खाली पाना कलमले काट्नु भनेकोमा डोटीका दिवाकर सापकोटाले उत्तरपुस्तिकाको खाली पाना नै च्याते । उनी पनि कारबाहीमा परेका छन् ।

नायव सुब्बाको परीक्षामा सहभागी धनुषाका दिनेशप्रसाद साह, कपिलवस्तुकी सुनिता चौधरी थारु र अछामकी सरिता जैशीले हालै भएको परीक्षा सकिएपछि प्रश्नपत्र आफैँ लिएर गएका थिए । लोकसेवा आयोगको केही परीक्षामा प्रश्नपत्र लिएर जान पाइँदैन, आयोगलाई नै बुझाउनुपर्छ । उनीहरूको पनि परीक्षा रद्द भएको छ ।

मर्यादित र निष्पक्ष परीक्षा लिने विश्वास गरिने लोकसेवा आयोगकै परीक्षामा परीक्षार्थीले किन मर्यादा विपरीतको काम गर्छन् त ? जानकार भन्छन्- आयोगले परीक्षार्थीलाई पर्याप्त सूचना नै दिन सकेको छैन ।

आयोगको पछिल्लो प्रतिवेदनअनुसार निजामती सेवातर्फ ११, सुरक्षा निकाय तथा सङ्गठित परीक्षातर्फ ३२ जना परीक्षार्थी कारबाही परेका छन् । सेना र प्रहरीकै परीक्षामा पनि उम्मेदवारहरु कारबाहीमा पर्ने गरेका छन् ।

परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा कारबाही हुन्छ । परीक्षामा अनियमितता र अमर्यादित काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना, छ महिनासम्म कैद र पाँच वर्षसम्म उम्मेदवार हुन नपाउनेसम्मको कारबाही हुने व्यवस्था छ ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।