कता हराए ६४ प्रतिशत विद्यार्थी ?

सामुदायिक विद्यालयमा ६४ प्रतिशतले बीचमै छाड्छन् पढाइ
कक्षा १ मा भर्ना भएका १० लाख विद्यार्थी १० मा पुग्दा तीन लाख ७५ हजारमै सीमित
चैत्र १९, २०८० |नारायण किलम्बू
कता हराए ६४ प्रतिशत विद्यार्थी ?

काठमाडौं । २०७१ सालमा देशभरका सामुदायिक विद्यालयको कक्षा १ मा १० लाख २८ हजार विद्यार्थी भर्ना भएका थिए । तर, तीमध्ये जम्मा तीन लाख ७५ हजारमात्र कक्षा १० मा पुगे । बाँकी ६ लाख ५३ हजार अर्थात् ६४ प्रतिशत विद्यार्थी कता हराए ? यो विषयमा गम्भीर नहुने हो भने हामीले शिक्षा र शिक्षा प्रणालीमा जतिसुकै ठुलाठुला बहस गरे पनि कुनै अर्थ राख्दैन ।

भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा २०७१ सालमा १६ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तर, १० कक्षासम्म आइपुग्दा तीमध्ये ६ जना मात्र बाँकी रहे, जो अहिले एसईई दिइरहेका छन् । भर्ना भएकामध्ये ३५ प्रतिशतले मात्र अध्ययनलाई निरन्तरता दिए । विद्यार्थीले किन बीचमै कक्षा छाड्छन् वा पछि पर्छन् ? यस विषयमा गम्भीर अध्ययन भएको पाइँदैन । तर कमजोर आर्थिक अवस्थाका कारण धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको प्रधानाध्यापक रामबाबु रेग्मीको बुझाइ छ ।

शिक्षा मन्त्रालयका अनुसार २०७१ मा देशभरका २८ हजार सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या १० लाख २८ हजार ६ सय ४२ थियो । २०८० सालमा आइपुग्दा कक्षा १० मा पुग्ने विद्यार्थीको संख्या ३ लाख ७५ हजार ६३१ मात्र छ । यो यसपालि एसईई दिनेको संख्या हो । यो हिसाबले ३६ प्रतिशत विद्यार्थीले मात्र अध्ययनलाई निरन्तरता दिँदै एसईई दिन योग्य भए भने बाँकी ६ लाख ५३ हजार अर्थात् ६४ प्रतिशत विद्यार्थी हराए ।

कक्षा १२ सम्म निःशुल्क शिक्षा प्राप्त गर्ने कानुनी व्यवस्था छ । तर यसले मात्र विद्यार्थीलाई कक्षामा अड्याउन सकेको छैन । यही कारण बीचैमा कक्षा छाड्ने दर बढ्दो छ । कक्षागत रुपमा यस्तो दर झन्डै ५ प्रतिशत छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गर्न सरकारले बर्सेनि अभियान चलाउँदै आएको छ ।

भर्ना अभियान चलाए पनि कक्षामा टिकाउने अभियान भने प्रभावकारी छैन । विद्यार्थी टिकाउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजालगायत कार्यक्रममा ठूलो रकम खर्च भइरहेको छ । तैपनि बीचैमा कक्षा छाड्ने क्रम रोकिएको छैन, जसमा विपन्न र दलित समुदायका विद्यार्थी धेरै छन् । यस्तै कारणले विद्यालय शिक्षामा एक खर्बभन्दा बढी रकम वार्षिक खर्च भएपनि उपलब्धि सन्तोषजनक छैन । विद्यालय तहको पाठ्यक्रम बालमैत्री बनाइ सीप र रोजगारसँग जोड्नुपर्ने शिक्षाविद् प्रदीप बोहोराको बुझाइ छ ।

बीचैमा कक्षा छाड्नेको संख्या मधेश प्रदेशमा धेरै छ । गरिबीकै कारण सानै उमेरमा विवाह गर्ने, दैनिक गुजारा चलाउन काममा जानुपर्ने बाध्यतालगायत कारण बीचैमा विद्यालय छाड्ने गरेको देखिन्छ । अन्य प्रदेशको स्थिति पनि यस्तै छ । देशैभरि शिक्षामा यो हदसम्मको स्थिति रहँदा पनि बेवास्ता गरिरहनु भनेको चरम लापरबाही हो । हल्लाखल्ला गरेर भर्ना अभियान चलाउने, करौडौं रकम शिक्षामा खर्च पनि हुने तर कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा १० मा पुग्दा-पुग्दै हराउने हो भने यसले हाम्रो शिक्षा र शिक्षाको स्तर तथा शिक्षित जनशक्ति उत्पादन कहिल्यै हुन सक्दैन । यो गम्भीर अनुसन्धान र छानबिनको विषय हो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।