काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रादेशिक अस्पतालसँग मिलेर नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएसँगै आफ्नै अस्पताल नभएका पाँच दर्जन नर्सिङ कलेज बन्द भएपछि सीटीईभीटीले विकल्पका रुपमा प्रादेशिक अस्पतालसँग मिलेर नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाएको हो । स्वास्थ्य र शिक्षा मन्त्रालयको प्रस्तावअनुसार आंगीक शिक्षालयको रुपमा प्रादेशिक अस्पतालहरुमा साझेदारी कार्यक्रमका रुपमा सञ्चालनका लागि सीटीईभीटीले मन्त्रालयमा लेखी पठाएको छ । सरकारले स्वीकृत गरे आगामी शैक्षिक सत्रदेखि नर्सिङ कार्यक्रम सञ्चालन गर्ने परिषद्को तयारी रहेको सदस्य-सचिव महेश्वरप्रसाद भट्टराईले जनाए ।
चिकित्सा शिक्षा ऐनअनुसार नर्सिङ कलेज सञ्चालनका लागि एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्छ । सोही कारण प्रमाणपत्र तहको नर्सिङ शिक्षा पठनपाठन हुने धेरै शिक्षण संस्था बन्द भए ।
पाँचवर्ष अघि नर्सिङमा चार हजारको भर्ना क्षमता रहेकामा अहिले दुई हजारको हाराहारीमा छ । नर्सिङ जनशक्तिको आवश्यकता र विद्यार्थीको मागलाई ध्यानमा राखी साझेदारी कार्यक्रममार्फत शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढाएको परिषद्को दाबी छ । यसअघि नर्सिङसम्बन्धी अध्ययन गर्न गठित कार्यदलले विश्वविद्यालयसँगै सीटीईभीटीका कार्यक्रम पनि सञ्चालन गर्न सकिने प्रतिवेदन दिएको थियो ।