न्याम्स र वीर अस्पताललाई किन अलग गर्न खोजियो ?

फाल्गुन १३, २०८० |नारायण किलम्बू
न्याम्स र वीर अस्पताललाई किन अलग गर्न खोजियो ?

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान-न्याम्सले देशका लागि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्ति उत्पादन गर्दै आएको छ । न्याम्सअन्तर्गत वीर अस्पताल सञ्चालित छ । तर प्रतिष्ठानबाट वीर अस्पताललाई अलग्याउने गरी सरकारले कानुन संशोधन गर्न लागेको छ ।

देशका लागि चाहिने स्वास्थ्य जनशक्ति र विशेषज्ञ चिकित्सक उत्पादन गर्ने उद्देश्यले सरकारले २०५९ सालमा अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गर्‍यो । २०६३ मा प्रतिष्ठानसम्बन्धी छुट्टै ऐन आयो । प्रतिष्ठानका लागि आफ्नै अस्पताल अनिवार्य छ । सोही अनुसार वीर अस्पताललाई आंगिक रूपमा स्थापना गरी २१ वर्षदेखि प्रतिष्ठानले नर्सिङदेखि विशेषज्ञ चिकित्सकसम्मका ६८ वटा कार्यक्रम सञ्चालन  गर्दै आइरहेको छ । 

१ हजार विद्यार्थी रहेको प्रतिष्ठानले ३ हजारभन्दा बढी विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको छ । यस्तो संस्थाबाट वीर अस्पताललाई अलग्याउन लागिएकोमा प्रतिष्ठानको आपत्ति छ । केही नेपाल ऐन संशोधनमार्फत गर्न ल्याउन लागिएको ऐन पारित भए प्रतिष्ठान मात्र होइन चिकित्सा शिक्षाका सबै कार्यक्रम प्रभावित हुने नेतृत्वको भनाइ छ ।

कोभिड महामारीका बेला वीर अस्पतालले सरकारलाई सहयोग नगरेको भन्दै नेपाल ऐन संशोधनमार्फत वीर अस्पताल अलग्याउने गरी प्रस्ताव गरिएको हो । प्रस्तावको पक्षमा रहेका सांसदहरूले भने आम जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सरकार मातहतको केन्द्रीय अस्पताल आवश्यक रहेकाले वीर अस्पताललाई अलग गर्नुपर्ने तर्क गर्दै आएका छन् । 

चिकित्सा शिक्षा अध्ययन-अध्यापन गर्ने शैक्षिक संस्थाको आफ्नै अस्पताल अनिवार्य हुनुपर्ने कानुनी प्रावधान छ । एक सय शय्याको आफ्नै अस्पताल नभएकै कारण पछिल्लो तीन वर्षमा ६५ वटा नर्सिङ कलेज बन्द भए । भक्तपुरको दुवाकोटमा वीर अस्पतालको ५ सय शय्याको अस्पताल नबनेसम्म अस्पताललाई प्रतिष्ठानबाट अलग्ग गर्न सक्ने स्थिति पनि छैन । त्यसैले यसतर्फ सरकार र सांसदहरू गम्भीर हुनु जरुरी छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।