को हुन् त्रिविको उपकुलपतिमा सिफारिस भएका ३ उम्मेदवार ?

फाल्गुन ७, २०८० |कान्तिपुर टीभी संवाददाता
को हुन् त्रिविको उपकुलपतिमा सिफारिस भएका ३ उम्मेदवार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट पारदर्शी बनाई योग्यलाई चयन गर्ने भने पनि विवादमा परेको छ । छनोट समितिले सर्ट लिस्टमा परेका १४ जनामध्येबाट हिजो तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको छ । तीन जनामध्ये एक जनालाई सरकारले नियुक्त गर्नेछ ।

शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले सर्ट लिस्टमा परेकामध्ये १४ जनाको आइतबार दुई चरणमा गरी अन्तर्वार्ता लिएको थियो । जसअनुसार उनीहरुका चारवर्षे कार्ययोजना तथा अन्तर्वार्ताका आधारमा तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको छ । पहिलो नम्बरमा प्राध्यापक डा. चित्रबहादुर बुढाथोकी सिफारिस भएका छन् ।

उनी त्रिविको शिक्षाशास्त्र संकायका डिन हुन् । तत्कालीन नेकपा निकटका रुपमा चिनिएका उनलाई उपकुलपतिमा धर्मकान्त बास्कोटा आएपछि शिक्षा संकायको डिन नियुक्त गरिएको थियो । बुढाथोकीले गत असार १४ गतेको प्राज्ञिक परिषद्को बैठकमा शिक्षाशास्त्र संकायको प्राविधिक विषयबाहेक अन्यमा चारवर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव गरेका थिए । उनले त्रिविले विश्व बैंकको इसारामा चारवर्षे कार्यक्रम कार्यान्वयनमा ल्याएको आरोप लगाएका थिए ।

यस्तै, दोस्रो नम्बरको सिफारिसमा परेका व्यक्ति हुन् पाल्पा जन्मघर भएका प्रा.डा. केशरजंग बराल । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति रहेका उनको नाम सर्ट लिस्टमा परेपछि संसदीय समितिले समेत प्रश्न उठाएको थियो । २९ माघमा बसेको शिक्षा समितिको बैठकमा स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बरालले पोखरा विश्वविद्यालयको उपकुलपति रहेका बेला निजी कलेजलाई सम्बन्धन दिँदा भ्रष्टाचार गरेको आरोप लगाएकी थिइन् । उनले सर्ट लिस्टमा परेका तीर्थ खनियामाथि पनि बौद्धिक चोरीको आरोप लगाएकी थिइन् ।

२०७१ मा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै बरालविरुद्ध अख्तियारमा मुददा परेको थियो । यद्यपी उनले उक्त आरोपमा सफाइ पाएका थिए । तर, उनीमाथि गैरकानुनी सम्बन्धनका साथै कर्मचारी नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप लगाइएको थियो । २०७६ मा तीर्थ खनियाको कार्यकाल सकिएपछि त्यतिखेरै बराल पनि उपकुलपतिको दौडमा थिए ।

तेस्रो नम्बरमा सिफारिसमा परेका टंकनाथ धमला गणित विभागका पूर्वप्रमुख हुन् । उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको दाबी गर्दै आएका छन् । ओखलढुंगाको रामपुरस्थित वरुणेश्वर माविबाट विद्यालय शिक्षा लिएका उनी त्रिविमा झन्डै ३४ वर्षदेखि प्राध्यापनरत छन् भने युनिभर्सिटी अफ म्याग्देबर्ग जर्मनीबाट पीएचडी गरेका छन् ।

अब यी तीनमध्ये प्रधानमन्त्रीले जसलाई छनोट गरे पनि वैधानिक रुपमा मिलेको देखिएला । तर प्रधानमन्त्रीले भनेजस्तो पारदर्शी रुपमा छनोट भएर योग्य व्यक्ति नै आउलान् भन्ने शंका भने यथावत् छ । किनकि अहिले नै छनोट प्रक्रिया र छनोट हुने व्यक्तिमाथि प्रश्न उठिसकेको छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको विषयमा सत्तारुढ तथा विपक्षी दलले आलोचना गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् । उनले दाहालले खुला प्रतिस्पर्धाबाट निष्पक्ष रुपमा नियुक्त गर्छु भनेर राजनीतिक भागबन्डा गरेको आरोप लगाए ।

विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यसपटक आएको राम्रो अवसर पनि गुमेको बताए । प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने उनको भनाइ छ ।

यस्तै, काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले उपकुलपतिमा भागबन्डा मात्र नभई एकलौटी गरेको टिप्पणी गरेका छन् । छनोट समिति बनाउने नाममा असफल साबित भइरहेका व्यक्तिलाई छनोट गरिएको उनको दाबी छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपकुलपति छनोट प्रक्रियाप्रति नै प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत छनोट समितिका तीन जनामध्ये शिक्षामन्त्री र शिक्षासचिव कसरी स्वतन्त्र प्राज्ञिक व्यक्ति भए भन्दै टिप्पणी गरेका छन् ।

यो पनि...

त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिसप्रति सत्तारुढ र विपक्षी दलको आलोचना

प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दै छन् : केपी ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.