प्रधानमन्त्रीको आश्वासन- युवाउपयोगी शिक्षानीति बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्छौं

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको आश्वासन- युवाउपयोगी शिक्षानीति बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको मंगलबार उद्घाटन गर्दै उनले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको जनाए । उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको बताए । उनले भने, ‘उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थी विदेशिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसद्‌मा प्रस्तुत गरिसकेको छ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने बुझेका छौं ।’

विद्यार्थी देशबाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ । यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्रै बाहिरएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ । त्यसैले पनि यसलाई रोक्न छिटोभन्दा छिटो शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहाँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्नेछ ।’

प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भने, ‘साथै विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने मात्र अहिलेको स्थिति बदल्न सकिन्छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.