जब स्कुल पुगेका विद्यार्थीका आँखा आँसुले भरिए...

मंसिर ४, २०८० |महेश केसी
जब स्कुल पुगेका विद्यार्थीका आँखा आँसुले भरिए...

रुकुमपश्चिम । भूकम्पले क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरू दसैंतिहारको बिदापछि खुले पनि विद्यार्थीको उपस्थिति निकै न्यून रह्यो, आएका विद्यार्थीमा पनि भूकम्पको मनोवैज्ञानिक त्रास हटेको छैन । यस्तै, भूकम्पले विद्यालयमा क्षति पुर्‍याए पनि कक्षाकोठाको वैकल्पिक व्यवस्था अझै गरिएको छैन ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ ज्यामिरकोटको जनविकास माध्यमिक विद्यालय दसैं-तिहारको एक महिना लामो बिदापछि सोमबार पहिलोपल्ट खुल्यो । विद्यालय खुल्यो, तर विद्यालयको ढोका खुलेन । भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालय भवनको अगाडि मलिन अनुहार लगाएर विद्यार्थीहरू लाइन लागे र भूकम्पका परी ज्यान गुमाएका आफ्ना ३ साथीको सम्झना गर्दै मौनधारण गरे ।

भूकम्पको क्षति बेहोरेका जाजरकोट र रुकुम पश्चिमका विद्यालय बिदापछिको पहिलो दिन कतै खुलेनन् भने खुलेकामा पनि विद्यार्थीको उपस्थिति न्यून रह्यो । भूकम्पका कारण जाजरकोटमा ४ सय २३ विद्यालयमध्ये २ सय ९४ मा पूर्णक्षति र १ सय २९ वटा आंशिक क्षति भए । रुकुम पश्चिममा १ सय ८ विद्यालयमध्ये ५२ मा पूर्ण क्षति र ५६ मा आंशिक क्षति पुगेको छ । रुकुम पश्चिममा १८ विद्यार्थी र १ कर्मचारीको मृत्यु भएको छ ।

भूकम्पले उता घर भत्किएको छ, यता विद्यालय । यसकारण अभिभावक बालबालिकालाई विद्यालय पठाउने कि घरमै राख्ने भन्ने अलमलमा छन् । प्रभावित क्षेत्रका बालबालिका पनि आज पहिलो दिन विद्यालय पुग्दा डराए ।

भूकम्पका कारण ठूलो क्षति बेहोरेका रुकुम पश्चिम र जाजरकोटका सामुदायिक विद्यालयमा कति नोक्सानी भयो भन्नेबारे मोटामोटी विवरण तयार गरिएको भए पनि अब कसरी अघि बढ्ने भन्ने अलमल देखिन्छ । भूकम्प गएको आधा महिना बितिसक्दा र विद्यालय खुलिसक्दा पनि कक्षाकोठाको वैकल्पिक व्यवस्थापन गर्न सरोकारवालाको चासो देखिँदैन ।

बालबालिकाको पठनपाठनलाई अघि बढाउनु त छ नै, भूकम्पले क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणका लागि ठोस योजनाको जरुरी छ । अझै भूकम्पको त्रासमा रहेका बालबालिकाका लागि मनोवैज्ञानिक परामर्श जरुरी देखिएको छ । यसका लागि सरकार र सरोकारवालाको चासो, चिन्ता र नतिजामुखी सक्रियता जरुरी छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।