प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छान्‍ने काठमाडौं महानगरपालिकाको तयारी

कार्तिक २२, २०८० |नारायण किलम्बू
प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छान्‍ने काठमाडौं महानगरपालिकाको तयारी

काठमाडौं । नेतृत्व र व्यवस्थापकीय पक्ष राम्रो भए सामुदायिक विद्यालयको गुणस्तर र सिकाइ उपलब्धि पनि राम्रो हुन्छ । तर कमजोर नेतृत्वकै कारण सामुदायिक शिक्षा खस्किँदै गएपछि काठमाडौं महानगरपालिकाले प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गर्ने भएको छ । आस्था र मनोमानी रूपमा प्रधानाध्यापक चयन गर्ने परिपाटी अन्त्य गरी प्रतिस्पर्धात्मक आधारमा गरे शिक्षा सुधार हुने विज्ञको बुझाइ छ ।

काठमाडौं महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तिनमा १७ सय शिक्षक कार्यरत रहेकोमा ११ सय स्थायी छन् । महानगरले अहिले ७१ विद्यालयमा प्रधानाध्यापक प्रतिस्पर्धाका आधारमा चयन गर्न लागेको हो । 

यसअघि कारागारका ३ सहित १६ वटा विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन भइसकेका छन् । प्राथमिक विद्यालयका लागि प्रमाणपत्र तह वा सो सरह, निमाविका लागि स्नातक र माध्यमिक विद्यालयका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेका शिक्षकले प्रधानाध्यापकको प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । विज्ञ टोलीबाट छानिएका उत्कृष्ट शिक्षकलाई रोजेको विद्यालयमा पठाउने महानगरको योजना छ ।

महानगरपालिकाले प्रधानाध्यापक छनोटका लागि पाँच सदस्यीय समिति गठन गरी छनोटको मापदण्डसमेत बनाएको छ । समितिले विद्यालय विकास प्रस्ताव, प्रस्तुतिकरणलगायत गरी ६० प्रतिशत अंक प्राप्त गर्ने शिक्षकलाई प्रधानाध्यापक सिफारिस गर्ने छ । प्रतिस्पर्धाका आधारमा योग्य र क्षमतावान् व्यक्तिले विद्यालयको नेतृत्व लिए सामुदायिक विद्यालयको सुधार र सिकाइ उपलब्धि राम्रो हुने प्रतिस्पर्धामा सहभागी शिक्षकहरू बताउँछन् । 

विद्यालय व्यवस्थापन समितिले शिक्षकहरू मध्येबाट प्रधानाध्यापक नियुक्ति गर्ने शिक्षा ऐन र नियमावलीमा व्यवस्था छ । जसले गर्दा योग्य र क्षमतावानभन्दा आफ्नो मान्छे नियुक्ति गर्ने परिपाटी थियो जसका कारण शैक्षिक गुणस्तर निरन्तर ओरालो लाग्दै आएको थियो । तर महानगरपालिकाले आफ्नै शिक्षा ऐन र नियमावली जारी गरी प्रधानाध्यापक चयन गर्न लागेको हो । 

सरकारले विद्यालय शिक्षामा लगानी गरेअनुसारको प्रतिफल नआइरहेका बेला प्रतिस्पर्धाका आधारमा योग्य व्यक्तिलाई प्रधानाध्यापक चयन गर्न सके शिक्षा सुधारमा टेवा पुग्ने विज्ञको बुझाइ छ ।

आफूखुसी आफ्नो मान्छे प्रधानाध्यापक चयन गर्ने परिपाटी अन्त्य गरी प्रतिस्पर्धाका आधारमा योग्य व्यक्तिलाई विद्यालयको नेतृत्व दिन सरकारले स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।