काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
नर्सिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढे पनि शिक्षण संस्था र सिट संख्या थोरै हुँदा धेरै विद्यार्थी पढ्नबाट वञ्चित रहेको भन्दै सीटीईभीटीले नयाँ सम्बन्धनका लागि प्रक्रिया अगाडि बढाएको हो । तर, विज्ञले भने कानुनसम्मत रुपमा बजारको माग र रोगजारी सुनिश्चितता नभएसम्म नयाँ स्वीकृति दिन नहुने बताएका छन् ।
सीटीईभीटीअन्तर्गत प्रमाणपत्र तहको नर्सिङ शिक्षा पठनपाठन हुने ३६ वटा शिक्षण संस्था सञ्चालनमा छन् । चिकित्सा शिक्षा ऐन आएपछि नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्न एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण पछिल्ला चार वर्षमा ७३ वटा नर्सिङ कलेज बन्द भए । जसका कारण धेरै विद्यार्थी नर्सिङ पढ्न वञ्चित रहेको भन्दै सीटीईभीटीले थप संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको भनाइ छ । २०६९ सालमा नर्सिङलगायत स्वास्थ्य शिक्षा सञ्चालनका लागि प्रस्तावना आह्वान गरी सीटीईभीटीमा दर्ता भएका संस्थाहरुको अद्यावधिक गर्न भनेको छ ।
पाँच वर्षअघिसम्म नर्सिङमा चार हजार नौ सय पाँच सिट संख्या रहेकामा अहिले एक हजार ६२० मात्र छ । त्यसो त नर्सिङबाहेक सीटीईभीटीका अन्य स्वास्थ्यका कार्यक्रमप्रति भने विद्यार्थीको आकर्षण घटेको छ । नर्सिङ काउन्सिलका अनुसार करिब ७५ हजारले नर्सिङको लाइसेन्स लिइसकेका छन् ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि सीटीईभीटीको पछिल्लो तयारीप्रति असन्तुष्ट छन् । चिकित्सा शिक्षाका विज्ञ प्रा.डा. हरि प्रधान नर्सिङको बजार माग र रोजगारीको सुनिश्चितता नभएसम्म नयाँ सम्बन्धन दिन नहुने बताउँछन् ।
सीटीईभीटीले यसअघि पनि नयाँ सम्बन्धनको प्रयास गरेको थियो । तर, स्वास्थ्य शिक्षाको नियमन निकाय चिकित्सा शिक्षा आयोगले सबै मापदण्ड नपुगेका र दक्ष प्रशिक्षक नभएसम्म नयाँ सम्बन्धन दिन नहुने अडान राख्दै आएको छ ।