सरकारले संसद्‌मा दर्ता गरेको विधेयकप्रति परीक्षा बोर्डका कर्मचारीको विरोध

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले संसद्‌मा दर्ता गरेको विधेयकप्रति परीक्षा बोर्डका कर्मचारीको विरोध

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संघीय संरचनाअनुरूप व्यवस्थापन गर्न संसद्‌मा दर्ता गराएको विधेयकप्रति राष्ट्रिय परीक्षा बोर्डका तीनवटै कर्मचारी संघ-संगठनले विरोध जनाएका छन् ।

बोर्ड अन्तर्गत रहेका कर्मचारी संघ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा विधेयकमा संशोधनका लागि सातबुँदे सुझाव जारी गरेका छन् ।

उनीहरुले सम्बन्धित सरोकारवालासँग छलफल नै नगरी विधेयक दर्ता गराएकोमा आपत्तिसमेत जनाएका छन् । विधेयकमा बोर्डको पूर्ण स्वायत्तता कायमको व्यवस्था हुनुपर्ने, राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वको प्रक्रिया अगाडि बढ्ने गरी ऐनमा व्यवस्था हुनुपर्ने, बोर्डमा कार्यरत सबै कर्मचारीको पारिश्रमिक, सुविधा बढ्नुपर्ने माग गरेका छन् ।

यस्तै बोर्ड सदस्यहरुको मनोनयन गर्ने अधिकार बोर्डमै नै निहित हुनुपर्ने, बोर्ड अध्यक्षको नियुक्ति शिक्षा ऐन, २०२८ (आठौ संशोधन) ले व्यवस्था गरेबमोजिम हुनुपर्ने, बोर्डको सदस्य-सचिव वरिष्ठतम अधिकृतमध्येबाट मात्र हुनुपर्ने र बोर्डमा हाल रहेका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालयहरु यथावत् हुनुपर्ने माग गरिएको छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भदौ २७ गते संसद्‌मा दर्ता गराएको थियो ।

Enter Kantipur TV HD
Advertisement