घटेन बाल विवाह

जेष्ठ १८, २०८० |माधव अर्याल
घटेन बाल विवाह

पाल्पा । बालविवाह न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकार मात्र होइन दातृ निकायले समेत प्रयास गर्दै आएका छन् । नेपालको कानुनले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको भए पनि पाल्पाको निस्दी गाउँपालिकाका किशोरकिशोरी भने १४ वर्षको कलिलो उमेरदेखि नै विवाह गर्न थाल्छन् ।

पाल्पाको निस्दी गाउँपालिकास्थित गोरखनाथ मावि अर्चलेमा पछिल्लो एक वर्ष ९ र १० कक्षामा पढ्ने १४/१५ वर्षका सातजना विद्यार्थीले विवाह गरे । गौरीशंकर मावि मित्यालमा पनि चालु शैक्षिक वर्षमै आठ विद्यार्थीको विवाह भयो ।

निस्दी गाउँपालिकामा रहेका १२ वटा माध्यमिक विद्यालयमा मात्रै होइन केही आधारभूत विद्यालयका विद्यार्थीले समेत विवाह गरेर बीचैमा पढाइ छाडेका उदाहरण छन् । सात कक्षादेखि माथिका विद्यार्थीले विवाह गर्ने र बीचैमा पढाइ छाड्ने प्रवृत्ति व्याप्त छ । विद्यालयमा बालमञ्च गठन गरेर बालविवाह रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

‘हामी बिहामा काम गर्न गएनौं । हामीले साथीको विवाह रोक्न प्रयास त गरेका थियौं तर सकिएन । एकैचोटि रोक्न नसकिँदो रहेछ । तर हामी कोसिस गर्दैछम्,’ गोरखनाथ मावि निस्दीकी विद्यार्थी केशकुमारी गाहाले भनिन् ।

जनचेतनाको कमी तथा आफ्ना किशोरकिशोरी सन्तानको बानीव्यवहारमा अभिभावक जिम्मेवार नबन्दा बालविवाह अन्त्य गर्नु चुनौती बनेको छ। सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग र जातिगत चालचलन बालविवाहविरुद्धको अभियानमा बाधा बनेका छन् ।

मगर समुदायमा कम उमेरमै विवाह हुने र यो पहिलेदेखि चल्दै आएको यस्तै हो भन्ने मानसिकता र बुझाइ रहेकाले पनि बालविवाह हुने गरेको सिन्दूर आधारभूत विद्यालय पाल्पाका शिक्षक होम राई मगरले जनाए ।

निस्दी गाउँपालिकाले तीन वर्षभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ बालमैत्री स्थानीय शासन लागु गर्ने प्रयास गरेको छ। त्यसका लागि आवश्यक ५१ वटा सूचक पूरा गर्न विशेष अभियान थालेको छ । बालविवाह न्यूनीकरणका लागि १२ कक्षा उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने किशोरीलाई विशेष सम्मान गर्ने योजना अघि बढाइएको छ ।

बाल विवाहका बेफाइदा र न्यूनीकरणका लागि बालमञ्च विद्यालयका शिक्षकहरुले छलफल, अन्तर्क्रिया चलाइरहेको निस्दी गाउँपालिकाका बालकल्याण अधिकृत कुश्माखर पाण्डेयको भनाइ छ ।

‘यहाँका नागरिक बाल विवाहप्रति सचेत नहुँदा हामीले विभिन्न कार्यक्रममार्फत सचेत गराउँदै छौं,’ निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले भने ।

२० वर्ष नपुग्दै हुने विवाहले मातृशिशु मृत्युदर बढ्ने, यौन तथा प्रजनन स्वास्थ्यमा नकारात्मक असर देखिने, शिक्षाबाट वञ्चित हुने, बहुविवाह र सम्बन्धविच्छेदका घटना बढ्ने हुनाले सचेतना जरुरी देखिएको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।