अंग्रेजी माध्यमका पाठ्यपुस्तकको छपाई नै सुरु भएन

वैशाख २३, २०८० |नारायण किलम्बू
अंग्रेजी माध्यमका पाठ्यपुस्तकको छपाई नै सुरु भएन

काठमाडौं । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन हुने विद्यार्थीका लागि पाठ्यपुस्तक छपाई नै सुरु हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रबाट छपाइका लागि पाण्डुलिपि उपलब्ध नहुँदा पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको सरकारी संस्था जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेको हो ।

सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीको संख्या करिव ५० हजार छ । कक्षा १ देखि १० सम्मका ती विद्यार्थीका लागि स्वास्थ्य, विज्ञान र गणित विषयका ४ लाख ६० हजार थान पुस्तक आवश्यक पर्छ । शैक्षिक सत्र शुरु भएको तीन साता बितिसक्दा पनि कक्षा ६ र ७ बाहेक अन्य कुनै पनि कक्षाको अँग्रेजी भाषाको पुस्तक छपाइको काम शुरु भएको छैन । पाठ्यक्रम विकास केन्द्रले नेपाली माध्यमको पुस्तक अँग्रेजीमा अनुवाद गर्न ढिलाइ भएकै कारण छपाइका लागि पाण्डुलिपि उपलव्ध गराउन ढिलाइ भएको जनाएको छ । बैशाख महिनासम्म सबै पाण्डुलिपि उपलव्ध गराइसक्ने केन्द्रले जनाएको छ ।

पाठ्यपुस्तकको अभावमा विद्यार्थीलाई पठन पाठनदेखि गृहकार्य गर्नसमेत समस्या भएको छ । पाठ्यक्रम विकास केन्द्रबाट छपाइका लागि पाण्डुलिपि उपलब्ध हुना साथ १५ दिनभित्र छापेर सबै जिल्लामा पुर्याइसक्ने जनक शिक्षा सामग्री केन्द्रको दाबी छ ।

सरकारले अँग्रेजी माध्यमको पुस्तक पनि विद्यार्थीलाई नि:शुल्क उपलव्ध गराउने नीति लिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।