कक्षा १२ को परीक्षा प्रणाली खुकुलो बनाउने तयारी

वैशाख २०, २०८० |नारायण किलम्बू
कक्षा १२ को परीक्षा प्रणाली खुकुलो बनाउने तयारी

काठमाडौं । कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल भए पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धिसम्बन्धी प्रावधान संशोधनका लागि शिक्षा मन्त्रालयमा पठाएको हो । यसअघि २ भन्दा बढी विषयमा फेल भए पुन: सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । अब भने विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षामा दुईभन्दा बढी विषय फेल भएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सामेल हुन नपाउने व्यवस्था थियो । अब शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धिसम्बन्धी प्रावधान संशोधन गर्दै दुईभन्दा बढी विषय फेल भएका विद्यार्थी पनि परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न लागेको हो । त्यस्ता विद्यार्थीले तीन वर्षभित्र सबै विषयमा तोकिएको ग्रेड प्राप्त गर्नुपर्नेछ ।

परीक्षा बोर्डका अनुसार हरेक वर्ष कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । तीमध्ये ६० हजारभन्दा बढी विद्यार्थी दुईभन्दा बढी विषयमा फेल हुन्छन् । त्यस्ता विद्यार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुनुपर्ने बाध्यता थियो । जसले गर्दा धेरै विद्यार्थीले पढाइ नै छाड्ने गरेका थिए । अब भने अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइने व्यवस्था गर्न लागिएको हो ।

लेटर ग्रेडिङ निर्देशिकाको ग्रेड वृद्धिसम्बन्धी व्यवस्था एक वर्षमै संशोधन गर्न लागिएको हो । यो नयाँ व्यवस्थाले १२ कक्षा उर्तीण हुन नसकेकै कारण पढाई छोड्ने विद्यार्थीको संख्यामा कमी आउने अपेक्षा सरकारको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।