चैत १७ गतेदेखि हुने एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

चैत्र ६, २०७९ |नारायण किलम्बू
चैत १७ गतेदेखि हुने एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा-एसईई चैत १७ गतेदेखि सुरु हुँदै छ । परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कक्षा १० को एसईई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन् । साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र  प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेशगत रूपमा फरक-फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ । 

त्यसो त संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो । तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ । परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीले मिहिनेत त गरिरहेका छन् नै, शिक्षकहरू पनि क्षमताले भ्याएसम्म लागिरहेका छन् ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका नयाँ बाटो खुला हुने भएकाले एसईईलाई पनि उत्तिकै महत्त्व दिने गरिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।