इन्जिनियरिङ पढ्न विदेश जानेलाई अनिवार्य प्रवेश परीक्षा (भिडियो)

चैत्र ३, २०७९ |नारायण किलम्बू
इन्जिनियरिङ पढ्न विदेश जानेलाई अनिवार्य प्रवेश परीक्षा (भिडियो)

काठमाडौं । सरकारले विदेशमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्न जानेले प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाएको छ । आफूखुशी इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विदेसिँदा शिक्षाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि प्रवेश परीक्षा पास गरेपछि मात्र अनुमति दिने भएको हो ।

इन्जिनियरिङ शिक्षा अध्ययन गर्न बर्सेनि ८ हजारभन्दा धेरै विद्यार्थी विदेसिन्छन् । सबैभन्दा बढी भारतमा जाने गरेको भए पनि बेलायत, बंगलादेश, अष्ट्रेलिया, फिलिपिन्सलगायतका देशमा पनि नेपाली विद्यार्थी पुग्ने गरेको पाइन्छ । प्रवेश परीक्षा नै उतिर्ण नगरी विदेशमा अध्ययन गरी फर्किँदा शिक्षाको गुणस्तर खस्केको मात्र नभई पेसामा समेत दक्षता हासिल नभएको देखिन थालेपछि नेपाल इन्जिनियरिङ् परिषद्ले नयाँ व्यवस्था गर्न लागेको हो ।

त्यसो त नेपालका विभिन्न विश्वविद्यालयका ५२ वटा इन्जिनियर कलेजबाट बर्सेनि ८ हजार विद्यार्थीले उच शिक्षा हासिल गर्छन् । यी मध्ये कतिपय विश्वविद्यालयले अहिले पनि प्रवेश परीक्षा लिन सकेका छैनन् । स्वदेशमा मात्र होइन, विदेशमा इन्जिनियरिङ शिक्षा अध्ययनका लागि अनिवार्य रुपमा प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्था मिलाउन विश्वविद्यालय अनुदान आयोगले सरकारलाई सिफारिस पनि गरिसकेको छ ।

इन्जिनियरिङमा उच्चशिक्षा हासिल गरेको शैक्षिक प्रमाणपत्रका आधारमा इन्जिनियरिङ काउन्सिलले लाइसेन्सको प्रमाणपत्र दिने गरेको छ । काउन्सिलका अनुसार अहिलेसम्म ७७ हजारले लाइसेन्स लिइसकेका छन् । प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने व्यवस्थाले इन्जिनियरिङ शिक्षाको गुणस्तर मात्र होइन पेसनसँगै पूर्वाधार निर्माणलाई बलियो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।