हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि गुरुङको नेतृत्वमा समिति गठन

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि गुरुङको नेतृत्वमा समिति गठन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा. जगमान गुरुङको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ ।

कोषले विश्वविद्यालय निर्माणका लागि बिहीबार सम्भाव्यतासहित अवधारणापत्र तयारी समिति गठन गरेको हो । पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैतभित्रमा अवधारणापत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल धर्मनिरपक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने जनाए । उनले डा. जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्न अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको धारणा राखे ।

हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको उनको भनाइ छ । मन्त्री किरातीले आधुनिक नेपालको सम्यताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने दाबी गरे । उनले मुलुकको मूल्य मान्यतालाई स्थानीयकरण गर्न नसकेको भन्दै हिन्दु विश्वविद्यालय विश्वभर बुद्धिजीवी उत्पादन उद्देश्य रहेको जनाए । नेपालको सांस्कृतिक कूटनीतिलाई सशक्त माध्यम बनाएर पर्यटन विकास गर्न योगदान पुग्ने उनको भनाइ छ ।

हिन्दु विश्वविद्यालय २०८१ को मंसिरभित्र मा सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ । अध्ययनसहित अवधारणापत्र तयार गर्न गुरुङसहित पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.