राज्यको शिक्षा नीतिलाई गिज्याइरहेको रोल्पाको विकट गाउँ (भिडियो रिपोर्ट)

चैत्र २, २०७९ |मीनराज रोका
राज्यको शिक्षा नीतिलाई गिज्याइरहेको रोल्पाको विकट गाउँ (भिडियो रिपोर्ट)

रोल्पा । घण्टौं हिँडेर विद्यालय पुग्नु पर्ने बाध्यताका बीच दुर्गम क्षेत्रमा बीचैमा विद्यालय छाड्ने बालबालिका धेरै हुन्छन् । रोल्पाको यस्तै दुर्गम गाउँ गाममा पनि यही समस्या छ । विद्यालय टाढा हुँदा धाउन नसकेर बीचैमा छोड्नेको सङ्ख्या बढ्दो छ ।

सुनछहरी गाउँपालिका - २ भित्री गामका बालबालिका दैनिक ४ घण्टाबढी हिँडेर विद्यालय जान्छन् । एकाबिहानै नहिँड्ने हो भने पुग्न ढिलो हुँदा आदी बाटोबाटै घर फर्किनु पर्ने बाध्यता आइलाग्छ । मगर र दलित समुदायको बसोबास रहेको गाममा माथिल्लो कक्षा पढ्न विद्यालय छैन । गाउँलेको श्रमदानबाट बनेको विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्छ । ६ कक्षादेखि माथि पढ्न दैनिक घण्टौँ हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ। विद्यालय टाढा भएकैले धेरै अभिभावक पाँच कक्षापछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदैनन् ।

भोगौलिक रूपले दुर्गम गाउँ गामका अधिकांश मानिस मौसमी बसाइँसराइ गर्छन् । कतिपय अभिभावक छोराछोरी साथैमा लगेर रोजगारीका लागि काठमाडौं, पोखरालगायतका सहरतिर जाने भएकाले पनि विद्यार्थीको पढाइ बीचैमा छुट्छ । बर्खामा विद्यालय आउजाउ गर्न झनै जोखिम छ । भीरबाट खस्ने ढुङ्गाले चोट लाग्ने डर मात्रै नभएर ज्यानैसमेत गुमाउनु परेको यथार्थ हो ।

गाम मात्रै नभइ भौगोलिक विकटताका कारण सुनछहरी गाउँपालिकाका अधिकांश विद्यार्थीले भोग्ने समस्या समान छन् । सुनछहरीमा मात्रै हरेक वर्ष २५ प्रतिशतभन्दा बढी विद्यार्थी विद्यालय छोड्ने गरेको गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकले देखाउँछ ।

सुनछहरीमा ३२ सामुदायिक र १ संस्थागत गरी ३३ वटा विद्यालय छन् । सरकारी शिक्षा नीतिमा सहज र सर्वसुलभ तरिकाले जीवनोपयोगी र गुणात्मक शिक्षा पाउनुपर्ने कुरालाई प्राथमिकता दिइएको छ भने शिक्षा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक पनि हो । तर रोल्पाको विकट गाउँको यो वास्तविकताले राज्यको नीतिलाई गिज्याइरहेको छ ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।