प्रधानमन्त्रीले भने- सरकार संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा जुटेको छ

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले भने- सरकार संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा जुटेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा जुटेको जनाएका छन् ।

पद्मोदय विद्यालयको हीरक जयन्तीका अवसरमा सोमबार उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्या एकमुष्ट रुपमा सम्बोधन गर्न लागेको जानकारी दिए । सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको जनाए । यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको दाहालको भनाइ छ ।

‘शिक्षाको विकास देश र जनताको सर्वांगिण विकासको आधार स्तम्भ हो । आज पनि विकसितभन्दा विकसित देशहरुले सबैभन्दा ठूलो प्राथमिकतामा शिक्षा राखेका छन् । विकासको आधार स्तम्भ शिक्षा हो । शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ,’ उनले भने, ‘सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रोअघि छ । यसलाई ध्यान दिँदै वर्तमान सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरुको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वांगिण विकासको आधार स्तम्भ भएको जनाए । शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.