इन्टर्नसिपका नाममा आफूखुसी बिरामी परीक्षण

माघ १०, २०७९ |नारायण किलम्बू
इन्टर्नसिपका नाममा आफूखुसी बिरामी परीक्षण

काठमाडौं । चिकित्सा शिक्षामा स्नातक गरेका विद्यार्थीले मेडिकल काउन्सिलमा दर्ता गरेपछि मात्र इन्टर्नसिप गर्न पाउने व्यवस्था छ । तर अधिकांश मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले विनादर्ता जथाभावी इन्टर्नसिप गराउन थालेपछि मेडिकल काउन्सिलले त्यस्ता शैक्षिक संस्था र विद्यार्थीलाई कारबाही गर्न थालेको छ ।

मुलुकभर २५ वटा मेडिकल तथा डेन्टल कलेज र सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र बीडीएसका २४ सय विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीले स्नातक गरेपछि मेडिकल काउन्सिलमा दर्तापछि मात्र चिकित्सकको प्रत्यक्ष रेखदेखमा आ-आफ्नो कलेज र प्रतिष्ठानमा इन्टर्नसिप गर्न पाउँछन् ।

तर काउन्सिलमा दर्ता नै नगरी विद्यार्थीलार्इ इन्टर्नसिप गराएको पाएपछि मेडिकल काउन्सिलले त्यस्ता शिक्षण संस्था र विद्यार्थीलार्इ कारबाही गर्न थालेको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलबाड गरेपछि कलेजका प्राचार्य, अस्पतालका निर्देशक, विभागीय प्रमुख र विद्यार्थीलार्इ कारबाही सुरु गरिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारी बताउँछन् ।

इन्टर्नसिप गर्ने हुन् या विशेषज्ञ चिकित्सक, स्वास्थ्य परीक्षण गर्न मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनुपर्छ । तर नियम कानुनलाई बेवास्ता गरी इन्टर्नसिपका नाममा आफूखुसी बिरामी परीक्षण गर्ने र गराउने संस्थालार्इ कारबाहीको दायरामा ल्याउनु पर्ने मेडिकल कलेज र अस्पतालहरुकै भनाइ छ ।

मेडिकल काउन्सिलमा दर्ता नै नगरी जाँच्दा बिरामीको ज्यान तलमाथि भए ३ वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा विनादर्ता इन्टर्नसिप नगराउन काउन्सिलले सबैलार्इ सचेत गराएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।