संस्कृतलाई पुरानो भाषा मानिन्छ । पूर्वीय सभ्यतामा संस्कृत भाषामा लेखिएका निकै पुराना दस्तावेजसमेत फेला परिरहेका छन् । तर आधुनिक शिक्षाको नाममा संस्कृतप्रतिको आकर्षण घट्दै गएका बेला पोखरामा भने बढेको छ । संस्कृत पढ्नकै लागि देशका विभिन्न जिल्लाबाट विद्यार्थी पोखरा आउने क्रम बढेको छ ।
राणा प्रधानमन्त्री देव शमशेरको पालामा १९५८ सालमा पोखरामा खोलिएको भाषा पाठशाला अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा सञ्चालित छ । यो विद्यालयमा अहिले २ सय विद्यार्थी छन् । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १ भिमकालीपाटन मै विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुादै आएको छ । विद्यापीठमा प्राकशास्त्री समेत गरी करिब एक सय विद्यार्थी छन् ।
यी बाहेक चिसाखोला विद्याश्रम, नारायणस्थान, केदारेश्वर विद्याश्रम, परोपकार संघ ढुंगेसाँघु, राधाकृष्ण गुरुकूल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफा लगायतका स्थानमा विद्यालय तहसम्म संस्कृत पठनपाठन भइरहेको छ । यो विषय सबै जातजातिको रोजाइमा परेको छ । त्यति हुँदा पनि पोखरामा अहिले शास्त्रीसम्मको मात्रै अध्ययन मात्र हुन्छ, त्यसपछि आचार्य स्नातकोत्तर तह अध्ययन गर्न अन्यत्रै जानुपर्ने बाध्यता छ ।
संस्कृत विषय अध्ययन गर्नेले सबै विषय संस्कृतमै पढ्नुपर्ने भने होइन । ६ कक्षाभन्दा माथि दुई सय पूणर्ाङ्कको संस्कृत र बाँकी अरु विषय पढ्नुपर्छ । अहिले पोखरामा पूर्वदेखि पश्चिमसममका विद्यार्थी पढ्न आउने भए पनि शिक्षकको भने अभाव छ ।
संस्कृत शिक्षाले मानिसलाई नैतिकवान बनाउन सहयोग पुग्छ । पछिल्लो समय नेपाली समाजमा नैतिकता र सदाचार कमजोर हुँदै गएको अवस्थामा संस्कृति शिक्षाको महत्व बढेको छ ।