रोल्यान्ड ग्यारोसमा इटालियन सिनरले सुरुवाती दुई सेट जितेपछि अल्काराज दबाबमा आए । २३ वर्षीय सिनरले पहिलो सेट ६-४ ले जितेका थिए । दोस्रो सेट टाइब्रेकरमा पुग्यो । पाँच-दुई अंकले अघि रहेका सिनरविरुद्ध अल्काराजले पुनरागमन गरेपछि टाइब्रेक भएको थियो ।
अल्काराजले ६-७ ले सिनरलाई नतिजा सुम्पिए । सिनर पहिलो फ्रेन्च ओपन जित्नबाट मात्र एक सेटले पछि थिए । तर २२ वर्षीय अल्काराज बाधक बने । तेस्रो सेट उनले ६-४ ले आफ्नो पक्षमा पारेपछि खेल रोमान्चक बनेको थियो । चौथो सेट अझै प्रतिस्पर्धात्मक बन्यो । अल्काराज तीन-पाँच अंकले पछि थिए । तर सानदार पुनरागमन गरेका उनले तीन म्याच पोइन्ट बचाउँदै टाइब्रेकरमा पुर्याए । ७-६ ले सिनरलाइ पराजित गरेपछि खेल पाँचौँ सेटमा पुगेको थियो ।
असाधारण प्रदर्शन गरेका अल्काराजले ७-६ को जितका साथ उपाधि उचाले । अल्काराज, सन् २०१९ को विम्बल्डन फाइनलमा नोभाक जोकोभिच पश्चात म्याच पोइन्टपछि उपाधि जित्ने पहिलो खेलाडी हुन् । उनले यसअघि दुई सेट गुमाएपछि कहिल्यै पनि खेल जितेका थिएनन् ।
सन् २००० पछि जन्मिएका यी दुई खेलाडीको यो पहिलो मुख्य फाइनल थियो । मास्टरक्लास खेल देखाएका सिनर र अल्काराजले ५ घन्टा २९ मिनेट कोर्टमा बिताए । फ्रेन्च ओपन इतिहासमा यो अहिलेसम्मकै लामो फाइनल हो ।
योसँगै अल्काराजले सिनरमाथिको आफ्नो दबाब कायमै राखेका छन् । उनले लगातार पाँचौँ पटक उनलाई पराजित गरे । सिनरको भने २० खेलदेखिको अपराजित यात्रामा ब्रेक लाग्यो । अल्काराजको करियरको यो पाँचौँ ग्रान्डस्लाम उपाधि हो ।