दाङ । दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ । नेपाल संस्कृत विश्वविद्याल र माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच पाँच बुँदे सहमति भएपछि २०८१ पुस १२ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय,अनुसन्धान केन्द्र, वाल्मीकि विद्यापीठ लगायतका ठाउँमा लागेको ताला खुलेको हो ।
गत २० गते नै ताला खोल्ने सहमति गरी हस्ताक्षर भए पनि ताला नखोलेको अखिल क्रान्तिकारीले आज ताला खोलेको हो ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत छात्रछात्राको पठनपाठन सहज गराउन आवश्यक पर्ने प्रयोगात्मक सामग्री यही असार मसान्तभित्र विनियोजन गरिएको बजेटबाट खरिद गरिसक्ने, ओपीडी सञ्चालन गर्नका लागि आवश्यक पर्ने हस्पिटल जनशक्ति तथा सामग्रीको आवश्यक प्रक्रिया मिलाउन आगामी विश्वविद्यालय सभामा प्रस्ताव लैजाने, नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनप्राप्त मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज पश्चात केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा नवौं ब्याचमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न आएका छात्रछात्राहरूलाई मात्र इन्टर्नशिप भत्ता दिने सवालमा शिक्षा मन्त्रालय र आयुर्वेद चिकित्सा परिषद्मा पत्राचार गरी त्यहाँबाट प्राप्त निर्देशन अनुसार विद्यापीठमा अध्ययनरत नवौं ब्याचका विद्यार्थीहरूमा एकरूपता कायम गर्ने सहमति भएको छ ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको परीक्षा प्रणालीलाई निष्पक्ष र भयरहित बनाइने, संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद अध्ययन सस्थानका पदाधिकारी (डिन,सहायक डिन,प्राचार्य) अनुगमन तथा निरीक्षण गर्ने निकाय भएको हुँदा प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका परीक्षण, सम परीक्षण जस्ता कार्यहरू नगरी आगामी दिनमा पदाधिकारी विषयमा उजुरीका आधारमा छानबिन गरी दोषी पाइएमा पुनःगठन गरिने, नेसंविको आर्थिक चलखेल सम्बन्धित आरोप हालसम्म निराधार भएको, यदि आरोप पुष्टि हुन सकेमा सम्बन्धित पक्षलाई कारबाहीका लागि विश्वविद्यालयले माथिल्लो निकायमा सिफारिस गर्ने, अहिलेको वार्ता समितिभन्दा पहिले र तत्कालीन निमित्त उपकुलपति प्राडा भीमप्रसाद खतिवडाद्वारा गठित वार्ता समितिका संयोजक सह प्राध्यापक योगराज शर्मा संयोजकत्वमा गठित वार्ता समितिसँग अखिल क्रान्तिकारीले गरेका सहमति शीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको भएको छ ।