विशेष सम्पादकीय : भ्रामक समाचारविरुद्ध कान्तिपुर टेलिभिजनको नेतृत्व

असार २९, २०८०
विशेष सम्पादकीय : भ्रामक समाचारविरुद्ध कान्तिपुर टेलिभिजनको नेतृत्व

कान्तिपुर टेलिभिजन २१औं वर्ष प्रवेशका अवसरमा म आजको यो विषेश सम्पादकीय हामीलाई विश्वास गरेर गएको दुई दशक मुलुकको सर्वाधिक हेरिने लोकप्रिय टेलिभिजन बनाउन योगदान पुर्‍याउने तपाईंलगायत सबै सबै दर्शक, स्रोता तथा शुभेच्छुकलाई समर्पण गर्न चाहन्छु । आभार व्यक्त गर्न चाहन्छु ।

कुनै पनि देशको टेलिभिजनले सूचना तथा मनोरञ्जन मात्र होइन, राष्ट्रिय तथा सांस्कृतिक पहिचान पनि बोकेको हुन्छ । जनतामा सत्य तथ्य सूचना प्रवाह गरी समाजको सशक्तीकरणदेखि मुलुकको समृद्धिसम्म टेलिभिजनले ठूलो महत्त्व राख्छ ।

टेलिभिजन पत्रकारिताको यो लामो यात्रामा अदम्य साहस, संकल्प र त्याग आवश्यक थियो । २०६० सालमा कान्तिपुर टेलिभिजन सुरु हुँदा देश सशस्त्र द्वन्द्वको चपेटामा थियो । इराकमा १२ जना नेपाली मारिएको घटनाले राजधानी काठमाडौं पनि अचानक अशान्त बन्यो, जसका कारण कान्तिपुर टेलिभिजनले समेत धेरै भौतिक क्षति बेहोर्नुपर्‍यो ।

०६२/६३ सालको दोस्रो जनआन्दोलनदेखि गणतन्त्र स्थापना र नयाँ संविधान निर्माणदेखि विभिन्न चुनाव हुँदै आजको संघीय अभ्याससम्म, लोकतन्त्र र विधिको शासनका पक्षमा जनतालाई सर्वोपरि ठानेर कान्तिपुरले सधैं वकालत गर्दै आएको छ । राजनीतिक उपलब्धि जनता र मुलुकको हितमा हुनुपर्छ भन्ने मान्यतालाई हामीले आत्मसात् गरिरहेका छौं । दुर्गम क्षेत्र र सीमान्तकृत समुदायको आवाजलाई हामीले महत्त्वका साथ स्थान दिँदै आएका छौं ।

२०७२ सालको विनाशकारी भूकम्पका बेला सडकमै स्टुडियो खडा गरेर दिनरात नभनी जनतालाई सूचना दिनेदेखि कोरोना महामारीको अत्यासलाग्दो समयमा पनि विचलित भएनौं । अघिल्ला तीनै तहका निर्वाचनमा हामीले देशैभरबाट चौबीसै घण्टा निरन्तर लाइभ प्रसारण गरेर जनतालाई जोड्ने काम गर्यौं ।

विश्वव्यापी इन्टरनेटको प्रयोगले टेलिभिजन उद्योगमा अविश्वसनीय परिवर्तन ल्याएको छ । दर्शक स्रोताको रुचि र जीवनशैलीमा व्यापक बदलाव आएको छ । भ्रामक र तथ्यहीन सूचनाको बाढी छ । पछिल्लो समय हाम्रो समाजमा रोजी-रोजी मीठो खाने र खोजी-खोजी राम्रो लगाउने चाहना र विकल्प छ । तर जब सूचना र समाचारको कुरा आउँछ मिडिया साक्षरताको अभावका कारण जथाभावी आउने गलत सूचनाको आधिकारिकता र स्रोत नबुझी फस्दै गएका छौं ।

यसले समाजमा निराशा र अन्योल बढ्दो छ । जसले गर्दा सामाजथिक सद्भावमा असर पर्न सक्छ । त्यसैले पनि नेपालको सञ्चार क्षेत्रमा सर्वाधिक हेरिने र विश्वास गरिने कान्तिपुर टेलिभिजनलाई दायित्व थपिएको छ । आज एकपछि अर्को भ्रष्टाचारका फाइल खुल्दै गएका छन्, यसमा निश्चय नै नेपाली मिडियाको ठूलो योगदान छ ।

बदलिँदो समय र प्रविधिले मारेको फड्कोसँगै आमदर्शकको चाहनाअनुसार र अझै स्तरीय दृश्य, समाचारमा विविधता र सन्तुलन कायम गर्दै थप रोचक कार्यक्रमसहित अघि बढ्ने क्रममा हाम्रा सामग्री अनलाइन, कान्तिपुरटीभी डटकम, युट्युब, फेसबुक ट्विटर, इन्स्ट्राग्राम र टिकटक जस्ता डिजिटल प्ल्याटफर्ममा समेत हेर्न सकिने भएका छन् । त्यसैले समाचार तथा मनोरञ्जनका लागि चारतिर भौंतारिनुको सट्टा हाम्रो नारा नै छ- 'कान्तिपुर हेरे पुग्छ ।'

नेपाली पत्रकारितामा कान्तिपुर टेलिभिजनले स्थापित गरेको मान्यता हो- विविधता, समावेशी र आधिकारिकता । हाम्रा सामग्री सत्य-तथ्यमा मात्र आधारित हुन्छन् । आगामी दिनमा पनि दर्शकको माया र विश्वास डग्मगाउन नदिई प्रेस स्वतन्त्रता, लोकतन्त्र र सुशासनका पक्षमा पूर्ण उत्तरदायित्वसहितको पत्रकारितालाई अनवरत रुपमा जारी राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।


Enter Kantipur TV HD
Advertisement